कमल थापाको धम्कीले मन्त्रीपरिषद् बिस्तार गर्न ओली डराए

काठमाडौं, १८ कात्तिक – स्थानीय विकास मन्त्रालय पार्टीले नै राख्नुपर्ने दवाव बढेपछि प्रधानमन्त्री केपी ओलीले मन्त्रपरिषद् बिस्तार गर्न सकेका छैनन् । राप्रपा नेपालले आफ्नो तर्फबाट स्थानीय विकास मन्त्री पाउनुपर्ने भन्दै निर्णय गरेर मन्त्रीहरुको सूची नै पठाइसकेकाले ओली अफ्ठेरोमा परेका हुन् । ओलीलाई राम्रा र जनतासँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय एमाओवादीलाई दिइसकेकाले स्थानीय विकास मन्त्रालय पार्टीले नै राख्नुपर्ने दवाव परेको छ । तर राप्रपा नेपालले पार्टी अध्यक्ष कमल थापालाई नै उपप्रधान तथा परराष्ट्र र स्थानीय विकास मन्त्रालयको जिम्मेवारी दिने भन्दै आधिकारीक रुपमा निर्णय गराइसकेको छ ।

स्थानीय विकास मन्त्रालय आफूहरुले पाउनुपर्ने अडान कायमै रहेको राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले बताए । स्थानीय विकास मन्त्री नपाए सरकार छाड्ने चेतावनी दिएको समाचार भने झुट्टा भएको उनले जानकारी दिए । राप्रपा नेपालले नयाँ थपिने मन्त्री, राज्य मन्त्री र सहायक मन्त्रीहरुको सूची पठाएर परराष्ट्रमन्त्री थापा राष्ट्रसंघको बैठकमा भाग लिन जेनेभा गएका छन् । आफू निर्वाचित भएको तीन साता बितिसक्दा पनि प्रधानमन्त्री केपी ओलीले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउन सकेका छैनन् । आन्तरिक विवादका कारण बुधबार पनि मन्त्रिपरिषद् बिस्तार नहुने भएको छ ।




.

0 comments

Write Down Your Responses