नेपालमा भारतीय हस्तक्षेपले हारेको अर्को एक दिन !

आफ्नो पार्टी सबैभन्दा ठूलो भएको समयमा तेश्रो ठूलो दल झलनाथ खनाललाई प्रधानमन्त्री बनाएपछि एमाओवादी अध्यक्ष प्रचण्डले भनेका थिए- नेपालीहरुले आफ्नै बल बुतामा प्रधानमन्त्री बनाएका छन् ।

विदेशी प्रभुहरुसँग (भारतसँग) रिसाएका प्रचण्डको उक्त अभिब्यक्तिमा देखिएको आक्रोशमा भारतीय हस्तक्षेपप्रतिको जुन आक्रोश थियो त्यति नै नभएपनि झण्डै त्यही शैलीको भाषामा उनले केपी ‌ओलीलाई प्रधानमन्त्री प्रस्ताव गर्दा संसदमा भाषण गरे । नेपालीले आफै निर्णय गर्ने कि विदेशी शक्ति (भारतसँग) लम्पसार पर्ने भन्ने भन्ने कुराको निर्धारण हुने दिन भन्दै उनले ओलीको उम्मेदवारीको बचाउ मात्र गरेनन् कांग्रेस र सुशील कोइरालाप्रति धिक्कार नै भने ।

सुशील कोइरालाको उम्मेदवारी बिडम्बना- प्रचण्ड

भनिन्छ नेपालमा सत्तामा जान भारतको समर्थन हुनै पर्छ र गएपछि टिक्नका लागि त त्यो अनिवार्य नै हुन्छ । तर यो कुरा नेपाली संसदले दोश्रो पटक गलत सावित गरेको छ । भारतले पटक्कै मन नपराएका झलनाथ खनालपछि भारतले रोक्नका लागि सबै बल प्रयोग गरेर पनि असफल भएका केपी ओली सम्म आइपुग्दा भारतीय कुटनीति मात्र होइन उसको हस्तक्षेप पनि खुइलिएको छ । ओलीलाई सत्तामा पुग्नबाट रोक्ने भारतीय चाहाना कांग्रेसकोरुपमा पराजित हुन पुगेको छ ।



नरेन्द्र मोदी भारतको प्रधानमन्त्री निर्वाचित भएपछि नै भारतको छिमेकी प्रतिको रवैया नयाँ देखियो । उनले आफ्नो सपथग्रहण समारोहमै सार्क मुलुकका सरकार तथा राष्ट्रप्रमुखलाई बोलाएर नयाँ ब्यवहार प्रदर्शन गरे । १७ वर्ष देखि भारतीय प्रधानमन्त्रीबाट नभएको नेपाल भ्रमणको इतिहास मेट्दै मोदीले १ वर्षमा नेपालको २ पटक भ्रमण पनि गरे । मोदीका बोली र ब्यवहार हेर्दा लाग्थ्यो अव नेपालसँग भारतको राजनीतिक स्तरमै कुटनीतिक ब्यवहार हुन्छ । यस अघिको जस्तो सुरक्षा तथा गुप्तचर निकायको कुराले मात्र भारतको नेपाल नीति निर्धारण गर्दैन । तर नेपालमा संविधान जारी गरेपछि भारतले देखाएका ब्यवहारले संविधान जारी हुँदै प्रधानमन्त्री चयन गर्ने दिन सम्म आइपुग्दा यो एउटा भ्रम थियो भन्ने पुष्टी मात्र भएको छैन फरक ब्यवहार देखाएका नरेन्द्र मोदीको नेपाल नीति पूर्णतः असफल समेत भएको छ ।निर्णायक बन्न खोज्ने भारतीय दुताबास पू्णतः असफल अन्तिम समय सम्म पनि प्रधानमन्त्रीय उम्मेदवारी नदिने मनस्थितिमा रहेका भनिएका कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाले नेपालका लागि भारतीय राजदूत रञ्जित रेले शुक्रबार राति भेटेपछि माहौल बदलियो । तीन दिनसम्म चलेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीको पार्टी टुंगो लगाउन नसकेका बेला राजदूत रे प्रधानमन्त्री निवास बालुवाटार पुगेरै कोइरालालाई प्रधानमन्त्रीमा पुनः अघि सर्न आग्रह गरेपछि उनी अप्रत्यासितरुपमा राजीनामा गरेर पुनः उम्मेदवारी दिन कँस्सिए । उनको उम्मेदवारीमाथि विभिन्न प्रश्न उठे । कांग्रेसका बाहेक संसदमा बोल्ने हरेकजसो नेताले कोइरालाको उम्मेदवारीलाई प्रश्न उठाए र राष्ट्रियतको सवाल भन्दै ओलीलाई समर्थन गरे ।


सायद यही प्रसंगतर्फ इङ्गित गर्दै हुन सक्छ चर्चित कांग्रेस नेता गगन थापाले पार्टी अन्तैबाट चलेको अभिब्यक्ति दिए र सुशीलको उम्मेदवारी दिने निर्णयप्रति गम्भिर असन्तुष्टि जनाए । सहमहामन्त्री पूर्णवहादुर खड्काले भारतले फसाएको र जिम्मेवारीमा बस्न मन नलागेको भन्दै पद नै छोडेको घोषणा गरे । काग्रेस सांसद बद्री पाण्डेले प्रश्न गरे-‘हाम्रा नेताले कांग्रेसलाई मात्र होइन, मुलुकलाई नै सिध्याउने घीनलाग्दो खेल खेले’ । कांग्रेस सांसद रामहरि खतिवडाले भने :-‘हिजो भारतले भनेर राजीनामा नदिने, आज भारतले प्रधानमन्त्री बनाइदिने आश्वासन दिएपछि राजिनामा दिएर उम्मेदवारी दर्ता गराउने खेलले हाम्रो शीर झुकेको छ, अब संसदीय दलको बैठक तुरुन्त बोलाउनुपर्छ ।’ अर्का कांग्रेस सांसद चन्द्र भण्डारीले त कोइरालाको निर्णय दूर्भाग्यपूर्ण र इतिहासकै भूलको सज्ञा दिए । ‘कांग्रेसको यो निर्णय इतिहासकै सबैभन्दा दुर्भाग्यपूर्ण घटना हो, आफैंले गरेको सहमति विपरीत गएर कांग्रेसले राजनीतिमा नैतिकता र विश्वास भन्ने शब्दकै अपमान गरेको छ’ उनले भनेका छन् । नेपालमा प्रधानमन्त्री चयन हुने पूर्वसन्ध्यामा भारतबाट सुशील कोइरालालाई प्रधानमन्त्रीमा जिताउन सांसद खरिद विक्रीको खेल शुरु भएको र करोडौं रुपैयाँ लगानी गर्न भारत तयार रहेको चर्चा चलेका थिए । तर जतिसुकै चलखेल भएको भएपनि ओलीलाई रोकेरै छोड्ने भारतीय सपना तुहिइएको छ । त्यसको नराम्रोसँग असफल गोटी बन्न पुगेको छ नेपाली कांग्रेस ।

मोदीको भाषण र वास्तविकता
गत वर्ष नेपालमा आयोजित सार्क सम्मेलनमा काठममाडौं आएका बेला मोदीले भाषण गरे- नेपालमा संख्याको आधारमा संविधान बन्न सक्दैन । गणतीय आधारमा बनाइने संविधान नेपालका लागि स्वीकार्य हुँदैन । मोदीको भाषण ब्यापक चर्चा र विवादमा पर्‍यो । मोदीको भनाइ हस्तक्षेपकारी थियो, सार्वभौम मुलुकको अस्तिमाथिको आक्रमण थियो तर विभाजित राजनीति र अस्पष्ट परराष्ट्र नीति भएका हाम्रा नेता त्यतिबेला आफ्नै तरिकाले चुप लागे । सत्तामा जान र त्यहाँ रहन भारतको भूमिका बुझिसकेका प्रचण्ड र सत्तामा जान खुट्टा उचालेका ओली चुप लाग्नुमा त्यतिबेला फरक स्वार्थ थिए ।

मोदीको मिठो भाषणको पृष्ठभूमि विर्साउँदै नेपाली राजनीतिमा हस्तक्षेप गर्ने भनेर सँधै बदनाम रहेको भारतले यस पटक प्रधानमन्त्रीय निर्वाचनमा झनै खुलारुपमा नेपाली राजनीतिमा धावा बोल्यो । भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि राजनीतिक तहमा पुगेको ठानिएको भारतसँगको सम्बन्ध पुनः कर्मचारीतहमै ओर्लिएको मात्र छैन नेपाली राजनीतिमा भारतको प्रतिछायाँ अझै लामो समय सम्म मेट्न कठिन छ भन्ने देखिएको छ ।

नेपालमा मोदीको प्रोपोगाण्डा गोयबल्सको जस्तै- भारतीय सांसद मणि शंकर

कुटनीतिमा सँधै माथि हात राखेर पनि नेपाललाई सँधै चेपुवामा राख्दै आएको भारत यस पटक संविधान जारीभएपछिको अवस्थामा भने धेरै हद सम्म नाङ्गिएको छ । नेपालको संविधानलाई संसारले स्वागत गर्दा उल्टो धम्कीपूर्ण विज्ञप्ति जारी गर्दै २ साता भन्दा बढीको अघोषित नाकाबन्दी सम्म पुर्‍याएको छ । यसैबीच नेपालमा भएको सरकार परिवर्तनको खेलमा भारतले आफूलाई पुनः एक पटक प्रमुख खेलाडीकोरुपमा उभ्याउँदै केही समय यता सहमतीय कोर्समा गएको नेपाली राजनीतिलाई विभाजित र छिन्न भिन्न अवस्थामा पुर्‍याउन सफल देखिएपनि सबै मिसनमा असफल भएको छ ।

नेपालमा नयाँ संविधान जारी हुनु पूर्व १ साता अघि देखि नै भारतीय असन्तुष्टीहरु विभिन्नरुपमा देखिँदै आएका थिए । भारतसँग निकट रहेका भनिएका विभिन्न पार्टीका नेताहरुले संविधान जारी गर्न नहुने बताउँदै आएका थिए । तर राजनीतिक कोर्समा अघि बढेको नेपाली राजनीतिमा प्रचण्ड र ओलीको गठजोडसँग संविधान जारी गर्न खासै इच्छुक नदेखिएका निवर्तमान प्रधानमन्त्री कोइराला पनि झुक्न बाध्य भए । यसैबीचमा काठमाडौं आएर ठाडो सन्देश दिँदै नेपाली नेताहरुलाई धम्क्याएका भारतीय प्रधानमन्त्रीका विशेष दुत एसजयशंकरको असन्तुष्टीपूर्ण दिल्ली फिर्ती नेपाली राजनीतिलाई झनै घातक सावित भयो । नेपालमा संविधान जारी भएरै छोड्यो । त्यति मात्र होइन सैनिक मञ्च टुँडीखेलबाट नेपाली राजनीतिका दुई मुख्यपात्र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतलाई नेपालको मामलामा हस्तक्षेप नगर्न स्पष्ट सन्देश दिए । आफ्ना विशेष दुतलाई किन आएको भन्ने शैलीमा प्रश्न सोधेर फिर्ता गरिएपछि रिसाएका नरेन्द्र मोदीलाई प्रचण्ड र ओलीका बोली यति बिझाए कि उनी नेपालमाथि नाकाबन्दी लगाउन आदेश दिएर अमेरिका तिर हानिए ।

भारत पराजयका श्रृंखला

नेपाली राजनीतिमा हस्तक्षेपकारी भूमिका खेल्न मन पराउने भारत पछिल्लो समयमा जित भन्दा बढी हार ब्यहोरिरहेको छ । केपी ओली प्रधानमन्त्रीमा चयन हुनु भारतीय पराजयको पछिल्लो कडी हो । ९० प्रतिशत भन्दा बढी सभाषदले हस्ताक्षर गरेको संविधानलाई अस्वीकार गर्दै विनाकारण असुरक्षाको कारण भनेर नेपालमाथि लादिएको भारतीय नाकाबन्दीले नेपालमा संभवतः इतिहासकै सबैभन्दा बढि भारत विरोधी भावना पैदा भएको छ । त्यसकै कारण हुन सक्छ नेपालमा संविधान जारी भएपछि भारतविरुद्ध सामाजिक सञ्जाल ट्वीटरमा भारतविरोधी २ ट्रेण्डिङ विश्वभरीमै १ नम्बर बने ।

भारतको दादागिरी विरुद्ध ट्वीटरमा विद्रोह, एक नम्बर बन्यो #BackOffIndia

नाकाबन्दी विरुद्ध विद्रोह, #DonateOilToIndianEmbassy १ नम्बर ट्रेण्डिङ

नेपालमा मात्र होइन भारतमै पनि भारतले नेपालमा अनावश्यक हस्तक्षेप गरेको र नेपालामा भारत विरोधी भावना बढाएको भनेर मोदी सरकारको ब्यापक आलोचना भैरहेको छ । गुप्तर निकाय देखि विपक्षी दल सम्मले नेपालसँग सम्बन्ध सुधार गर्न दवाव दिएका छन् । १ वर्षमा २ पटक नेपाल भ्रमण गरेका र भाषण गरेर नेपालको सबैभन्दा आफन्त देखाउन खोजेका नरेन्द्र मोदी सबै मोर्चामा आफूलाई असफल बनाएर नेपालमा सबैभन्दा अलोकप्रिय भारतीय प्रधानमन्त्रीमा दर्ज भएका छन् । यो नै भारतको सबैभन्दा ठूलो असफलता हो । अहिले नेपालमा उत्पन्न भारतविरोधी भावनाले दीर्घकाल सम्म भारतलाई घाटा र नेपाललाई सकारात्मक परिणाम दिने पटाक्षेप भैसकेको छ । भारत विरोधी छविमा देखिएका केपी ओली प्रधानमन्त्री बन। यहाँ नेर भारत राजनीतिकरुपमा सबैभन्दा ठूलो पराजय भोग्न बाध्य भएको छ । ओलीको सत्तागमनसँगै भारतले आफ्ना राजदुत फिर्ता बोलाउने लगायतका गतिविधी गर्न सक्ने अनुमान कतिपयले गरेका छन् । तर मधेशीहरुले कडा आन्दोलन गर्ने संकेतकाबीच भारतीय रबैया के हुन्छ भन्न नसकिने अवस्था छ ।नरेन्द्र मोदीको नेपाल कुटनीति असफल भएको दिन !




0 comments

Write Down Your Responses