कतारमा सिन्धुपाल्चोककी चेलीको निधन

दोहा, २७ कात्तिक – विगत २ बर्षदेखि कतारको एक किलिनिङ कम्पनीमा कार्यरत सिन्धुपाल्चोककी माया घलेको मृत्यु भएको छ । गत १० नोभेम्बर मंगलबार विहान ८ बजेतिर उनको अचानक मृत्यु भएको हो । उनको शवलाई अहिले कतारको हमाद हस्पिटलमा राखिएको छ । विहान काममा पुगेकी उनले एक्कासी रगत बान्ता गरेकी थिइन् । त्यतिकैमा उनको मृत्यु भएको सोही कम्पनीमा कार्यरत सन्जु सुन्दासले जानकारी दिइन् । उनी भन्छिन्, ‘अकल्पनीय घटनाले मर्माहत बनाएको छ । सधै हँसिलो मुहारमा देखिने उनको यो घटनाले हामीलाई अत्यन्तै दुखीत बनाएको छ ।’ कतारस्थित नेपाली दुतावासमा पनि आकस्मिक विरामी भएका कारण मृत्यु भएको जानकारी आएको कार्यवाहक राजदुत मणिरत्न शर्मा बताउँछन् । ‘सडेन सिक्नेसन भन्ने रिपोर्ट दिएको छ विस्तृत जानकारी बुझ्दै छौं,’ कार्यवाहक राजदुत शर्मा भन्छन् ।





मृतक घले कतार नेपाली एकता समाजकी महिला विभागकी सदस्य समेत थिइन् । उनको परिवार गत बैशाखको भूकम्पबाट समेत पीडित भएको एकता समाजका सचिव विष्णु थापा बताउँछन् । ‘उनले मिर्गौलाको बिरामी छु भन्थिन् । आर्थिक समस्या परे हामी सहयोग गरौंला भनिरहेका थियौं । तर अचानक मृत्युको खबरले मर्माहत बन्यौं,’ थापा भन्छन् । उनको घर परिवारको बारेमा विस्तृत बुझेर शव नेपाल पठाउने र परिवारका लागि समाजले सहयोग गर्ने समाजका सचिव थापाले भने ।

0 comments

Write Down Your Responses