प्रधानमन्त्री देउसीमा सहभागी

काठमाडौं, २७ कात्तिक – प्रधानमन्त्री केपी शर्मा ओली नेकपा (एमाले) काठमाडौँले आज प्रधानमन्त्री निवासमा आयोजना गरेको देउसी कार्यक्रममा सहभागी भई खुसियाली साटासाट गर्नुभयो । काठमाडौँ कमिटीका अध्यक्ष कृष्ण राई, काठमाडौँ उपत्यका इन्चार्ज सानुकुमार श्रेष्ठ, सांसद रामेश्वर फुयाँल, रामवीर मानन्धरलगायत आज साँझ त्यहाँ देउसी खेल्न पुग्नुभएको थियो । प्रधानमन्त्री ओलीले देउसी महत्वपूर्ण पर्व भएकाले यसको सांस्कृतिक पक्षलाई जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो । सांसद फुयाँलले अहिले मुलुकमा उत्पन्न भएको असहज परिस्थितिमा पनि जनताले राष्ट्रियताका लागि देखाएको संयमता र धैर्यको सराहना गर्दै यस्ता पर्वले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

आत्मनिर्भर हुन जोड
उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले नेपाल तथा भारतबीच अहिले देखिएको समस्या समाधान गर्न सरकारले कूटनीतिक पहल गरिरहेकाले चाँडैसमस्या हट्ने विश्वास व्यक्त गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालको देउसी कार्यक्रममा उहाँले मुलुकको आन्तरिक मामिलामा भारतले लिएको चासोलाई अन्तर्राष्ट्रिय समुदायले मन नपराएको बताउँदै भूपरिवेष्टित राष्ट्र नेपालको पारवहन अधिकार भारतले खुकुलो बनाउँदै जाने सम्भावना बढेको बताउनुभयो । मन्त्री पाण्डेयले दीर्घकालीन समाधान गर्न नेपाली जनता र सरकार दुवैले आत्मनिर्भर हुने योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

0 comments

Write Down Your Responses