‘उर्जा बेच्ने देशले नेपालका ४० लाख युवालाई कुल्ली बनाए’

दाङ,फागुन १३– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोख्रेलले उर्जा बेच्ने देशले नेपालका ४० लाख युवालाई कुल्ली बनाएर राखेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन दाङले बुधबार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष पोख्रेलले उर्जा बेच्ने देश कतार, युनाइटेड अरब इमिरेट्स, साउदी अरेबिया र मलेसीयाले होनाहार युवालाई लगेर कजाएको बताएका छन् । नेपालमा उर्जा बेच्न हुन्छ की हुँदैन भनेर विभिन्न समयमा बहस गर्दा गर्दै एक पुस्ता गुजारेको उल्लेख गर्दै पछिल्लो समय उर्जा बेच्न हुन्न भन्ने मान्यता तोडेर अघि बढेको उनले बताए । भारतसँग ‘पिटिए’को सम्झौता र बंगलादेशसँग पनि सार्कस्तरीय रुपमा उर्जाको कामका लागि हस्ताक्षर भए पछि नेपालको भविष्य उज्यालो भएको उनले बताए । हाइड्रो पावर, सिमेन्ट उद्योग र होटेलका लागि यसै आर्थिक वर्षमा १०÷१२ खर्बको वैदेशीक लगानि भएको उनले बताएका छन् । स्वदेशी लगानीलाई जोड्ने हो भने लगानी अझै बढ्ने बताउँदै यसले रोजगारीको अवस्था सृजना हुने र त्यसले नेपाललाई सम्बृद्धिको बाटोमा अघि बढाउने आफ्नो विश्वास प्रकट गरे । मध्यपश्चिमलाई सिमेन्ट हबको रुपमा बिकास गर्न सकिने आशा व्यक्त गर्दै यसका लागि राज्यले पूर्वाधार निमार्णको तयारी सुरु गरिसकेको जानकारी समेत दिए । त्यसका लागि लमहीदेखी सल्यानको कपुरकोटसम्म आवश्यकता अनुुसार बाटो बिस्तार गरिने योजना रहेको जानकारी दिएका छन् । उनले तुलसीपुर एरपोर्टमा नियमित उडानका लागि आफूबाट पहल भईरहेको भन्दै सरकारले एयरपोर्टबाट बजारसम्म जोड्ने सडकलाई कालोपत्रे र मर्मत गर्ने रणनीति अपनाएकोले तत्काल तुलसीपुर एरपोर्टबाट बजारसम्मको सडक मर्मत तथा कालोपत्रे गरिने जानकारी दिए ।

0 comments

Write Down Your Responses