वाइसिएलको जुलुसमा भएको लाठी प्रयोगप्रति गृह मन्त्रालयको आपत्ति

काठमाडौँ, फागुन १३– एकीकृत नेकपा (माओवादी) सहितको ३० दलीय मोर्चाको हिजोको जुलुसमा भएको लाठी प्रयोगप्रति आफ्नो ध्यानाकर्षण भएको गृह मन्त्रालयले जनाएको छ । लाठी प्रयागले जनजीवन आतङ्कित बनाएको भन्दै मन्त्रालयले आज एक विज्ञप्तिमार्फत जनप्रदर्शनका नाममा कानुन हातमा लिई जनजीवन आतङ्कित पार्ने कार्य गैरकानुनी भएको हुँदा यस्तो गतिविधि नगर्न अपिल गरेको छ । यस्तो गैरकानुनी क्रियाकलाप गरेको वा संलग्न भएको पाइएमा कानुनबमोजिम कारबाही हुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । संविधान निर्माणका सम्बन्धमा दलहरुबीच विवाद कायम रहेका अवस्थामा एमाओवादीसहितको मोर्चाले आगामी फागुन १६ गते गर्ने भनिएको सभालाई लक्ष्यित गरी वाइसिएल कार्यकर्ताले हिजो राजधानीमा बाँसको भाटासहित मार्चपास गरेका थिए ।

0 comments

Write Down Your Responses