एक-एक रुपैयाँ उठाएर सम्पदा निर्माण गरौं : ओली

काठमाडौं, जेष्ठ १६ - एमाले अध्यक्ष केपी शर्मा ओलीले भावनासँग जोडिएका सम्पदा नेपाल आफैंले निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

एमालेको स्वयंसेवक परिचालन अन्तर्गत स्वयम्भू सफाइमा शनिबार बिहान पुगेका ओलीले केही पुरातात्विक धरोहरलाई आफ्नै बलबुतामा बनाउनुपर्ने बताए । 'तीन करोड नेपाली छौं, एक-एक रुपैयाँ उठाए पनि तीन करोड उठाउछौं ।'

ओलीले नेपालीको भावना, आस्था, विश्वास र इतिहाससँग जोडिएका सम्पदामा विदेशी सहयोग लिन नहुने उल्लेख गरे । 'जुन पवित्र खर्चमा निर्माण गर्नुपर्छ,' उनको भनाइ थियो ।

ओलीले आम संरचना निर्माणका लागि भने विदेशी सहयोग पनि लिन सकिने उल्लेख गरे । उनले जनतालाई छानामुनि राख्नु सरकारको पहिलो प्राथमिकता हुनुपर्ने बताए । 'त्यसमा पनि सुत्केरी महिला भएकालाई पहिलो प्राथमिकता दिनुपर्छ,' उनले भने, 'त्यसपछि बुढाबुढी केटाकेटी भएका घर बनाइदिनुपर्छ ।'

विश्वका सबै मुलुक कुनै न कुनै प्राकृतिक विपत्तिमा पर्ने गरेको उल्लेख गर्दै ओलीले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पार्ने सूचना सम्प्रेषण भएकोमा चिन्ता व्यक्त गरे । 'पर्यटन क्षेत्र ध्वस्त भएको छैन, केही क्षतिमात्र भएको हो,' उनले भने, 'नेपाल केही समयमै सम्हालिन्छ ।'

एमालेको स्वयंसेवक अभियानलाई सञ्चारमाध्यमले प्राथमिकता नदिएकोमा ओलीको असन्तुष्टि थियो । 'एमाले प्रचारमा रुचि त छैन,' सञ्चारकर्मीलाई उनले भने, 'एक हजारभन्दा बढी ठाउँमा एमालेका स्वयंसेवक खटिएका छन् । त्यहाँ कति छन् भनेर औंलामा गन्न सकिंदैन । नयाँ क्याल्कुलेटर नै चाहिन्छ ।'

ओलीले केही व्यक्तिलाई मन्त्री र प्रधानमन्त्री बनाउन नभएर देशको पुनःनिर्माण गरी राष्ट्रिय विपत्तिको सामना गर्न सबै दल एक हुनुपर्ने धारणा राखे ।

एक साथ १० हजार स्वयंसेवक परिचालन गरेको एक सातापछि ओली पनि शनिबार काठमाडौंका विभिन्न ठाउँमा जारी श्रम अभियानमा सहभागी भए । स्वयम्भू सफाइबाट श्रम अभियान सुरु गरेका उनले ललितपुरको बुङ्मति, टोखा, धापासी र त्रिपुरेश्वरस्थित विश्व निकेतन स्कुलमा पुगे ।

ओलीसहित श्रम अभियानमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, राष्ट्रिय स्वयंसेवक परिचालन अभियानका संयोजक गोकर्ण विष्टलगायत सहभागी थिए ।

एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार सोमबारदेखि सुरु भएको अभियान अन्तर्गत एमाले स्वयंसेवकले शनिबारसम्म १ हजार भन्दा बढी अस्थायी घर बनाएका छन् । 'अस्थायी घरबाहेक १ सय विद्यालय निर्माण भएका छन्,' उनले भने, 'भग्नावशेष भएका करिव एक हजार नै घर भत्काउने र पन्छाउने काम पनि भएको छ ।'

0 comments

Write Down Your Responses