संसदमा प्रचण्डको प्रश्नः यो देशमा कस्को कमाण्ड छ ? भूकम्प कति रेक्टर स्केलको हो ?

२५ बैशाख, काठमाडौं ।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा भयानक विपदाको समयमा देश कसले चलाइरहेको छ भन्ने अस्पष्टता र अस्त ब्यस्तको अवस्था रहेको भन्दै दुःख ब्यक्त गरेका छन् । संसदको बैठकमा विपक्षी दलको नेताको हैसियतमा सम्बोधन गर्दै उनले ठूला प्राकृतिक घटनाको जोखिम रहेको चेतावनी आफूले पहिले नै दिएको दावी समेत गरे । सिन्धुपाल्चोकमा गएको पहिरो भ्रमण गरेपछि आफूले देशको भौगर्विक अध्यन गर्नु पर्ने र बैज्ञानिकहरुले दिएको चेतावनी स्मरण उनले गराएका छन् ।

प्रधानमन्त्री र गृहमन्त्रीले लामो विवरण प्रस्तुत गरेपनि अहिले पनि परंपरागतरुपमै ठूला ठूला शब्द बोल्ने तर काम केही नहुने हो कि भन्ने चिन्ता कायम छ । यो भूकम्पलाई एउटा शिक्षाकोरुपमा लिनु पर्ने बताउँदै उनले यो चुनौतीलाई अवसरकोरुपमा बदल्नु पर्ने समेत उनले बताएका छन् ।

उनले भनेः सरकारको कामकारवाही र शैली हेर्दा परंपरागतरुपमा सैद्दान्तिकरुपमा बाचा मात्र गर्ने शैली हो कि भन्ने आशंका छ । आम नेपाली जनताले सरकारले काम गरेको छ भन्ने अनुभव गरेका छैनन् । बरु सरकारले जिम्मेवारी पुरा गरेको छैन भन्ने आम अनुभव छ । अन्तराष्ट्रिय र राष्ट्रिय चेतावनी र चर्चाका बाबजुद पनि नेपालको राज्य र नेपालको सरकार यस्ता विपत्तीका लागि शुन्य तयारीमा रहेछ भन्ने पुष्टि भएको छ । न्यूनतम र आधारभुत तयारी समेत देखिएन । विपक्षीले कुरा उठाउँदै गर्छ भन्ने ढंगबाट नलिन समेत उनले चेतावनी दिएका छन् ।



उनले भनेः अव देशमा राष्ट्रिय संकल्प जरुरी छ । अझै पनि देशमा ठूलो भूकम्पको खतरा कायम रहेको विगत १४ दिनले देखाएका छन् । सरकारले यसलाई सुन्न चाहेको छैन या सुनेर पनि सुने जस्तो गरेको छैन ।

दैवी प्रकोप होइन प्राकृतिक प्रकोप

उनले नेपालमा आधिकारिक निकायमा दैवी प्रकोप भन्ने शब्द प्रयोग भैरहेको भन्दै प्राकृतिक प्रकोप बढी बैज्ञानिक हुने भन्दै अव दैवी प्रकोप भन्दा प्राकृतिक प्रकोप शब्द प्रयोग गर्नु उपयुक्त हुने बताएका छन् ।

सरकारको कमाण्ड कहाँ छ ?

प्रचण्डले यो विपदाको समयमा सरकारको कमाण्ड कहाँ छ भन्ने अन्यौलको अवस्था सृजना भएको बताएका छन् । विदेशी निकाय र देशले सहयोगी हात बढाउँदा समेत केही गर्न नसक्ने अस्त ब्यस्त अवस्थामा सरकार देखिएको छ । नेपाली जनतालाई देशका राजनीतिक दल भन्दा अरु नै कोही हामीलाई मायाँ गर्ने र बचाउँने छ कि भन्ने अवस्था सृजना भएको समेत उनले बताए । देशमा कस्को कमाण्ड छ र के प्राथमिकता कहाँ छ भन्ने अवस्था देखियो । कतिपय अवस्थामा कुन देशका हेलिकोप्टर कहाँ उडेका छन् भन्ने अवस्था सम्म आएको दखिएको भन्दै उनले यस विषक्षमा समीक्षा गर्नु पर्ने बताए ।

कति रेक्टर स्केलको हो भूकम्प ?

प्रचण्डले सरकारका विभिन्न निकायले भूकम्पको मापन नै फरक फरक भएको भन्दै आश्चर्य प्रकट गरे । सरकारी निकायले कुनैले ७ दशमल ४ र कुनैमा ७ दशमलव ६ तथा कुनैमा ७ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भन्ने उल्लेख गरेको भनेर प्रश्न गरे । अमेरिकी भूगर्भ विभाग र नेपाल सरकारको विवरण फरक रहेको भन्दै उनले आलोचना गरे । त्यसैगरी उनले भूकम्पका कारण निधन भएकाहरुको संख्या समेत फरक फरक आएको भन्दै उनले कसलाई पत्याउने भनेर सरकारलाई प्रश्न गरे ।

प्रचण्डले भनेः नेपाल बचाउने र माया गर्ने राजनीतिक पार्टी बाहेक अरु पनि छ भन्ने गरी प्रचार गरियो । त्यो महसुस हामीले गरयौं त्यस्तो अवस्था कसरी किन आयो ? राजनीतिक प्रणाललिाई पाँच सात दिनमा भयो, राष्ट्रको गरीमामा आँच आउने काम पनि भए । त्यो किन भयो ? त्यसको जवाफ सरकारसँग छ ? सरकार र मन्त्रीहरु अरु कसैले अह्राएको काम गर्ने कारिन्दा जस्तो भए । सरकारले आफ्नो नियन्त्रण गुमाएको देखियो । स्केल कति हो त्यो पनि सरकारले स्पष्ट पार्न सकेन । ७.६ हो कि ७.७, ७.८ वा ७.९ कुन सहि हो भनेर समेत स्पष्ट पार्न सकिन्न भने सरकारले के गरिरहेको छ । मर्नेको संख्या कति पुग्यो भन्नेमा पनि सरकार अझै स्पष्ट हुन सकेको छैन ।

पूनःनिर्माण कि चाउचाउको लाइन
प्रचण्डले अव देश पुनः निर्माण गर्ने कि जनतालाई चाउचाउ लिन लाइन लगाउने भन्ने प्रश्न खडा भएको बताएका छन् । अवको अवस्थामा देश निर्माणका लागि एकतृत भएर लाग्नु पर्नेमा उनले जोड दिए । उनले अव पनि विदेशीसँग पाल र चाउचाउ माग्ने र जनतालाई एक प्याकेट चाउचाउ लिन दिनभरी लाइन लगाउने मनोवृत्ती त्याग्नु पर्ने उनले बताए । उनले सरकारले निशुल्क उपचार भनेर सैद्दान्तिक घोषणा गरेको तर अहिले पनि जनताले प्राइभेट अस्पतालमा पैसा तिरेर उपचार गराउने अवस्था रहेको बताए । सरकारले कति पैसा छूट्टयाएको छ भनेर प्रचण्डले प्रश्न गरे । अस्पतालहरुलाई २-४ करोड दिएर निशुल्क उपचारको ब्यवस्था गर्न समेत सरकारले किन नसेकेको भनेर उनले प्रश्न गरे ।

सरकारको ठोस प्रस्ताव चाहियो

प्रचण्डले वर्षातको समयमा हामी सुरक्षित छौं भन्ने अनुभव जनतालाई गराउनु पर्ने माग गरेका छन् । कम्तिमा घर भत्केकाहरुलाई जस्ता पाता दिनु पर्ने र वर्षातमात्र मात्र नभएर अर्को ब्यवस्था गर्छौं भनेर सुनिश्चित पार्नु पर्ने माग गरेका छन् । प्रचण्डले जनतालाई घरबास र खाद्यान्नको पनि ग्यारेन्टी गर्नै पर्नेमा जोड दिए । उनले अर्को अन्न उत्पादन नभएर नआए सम्म खाना राज्यले खुवाउँछ भन्ने ग्यारेन्टी गर्नु पर्ने माग पनि प्रचण्डले गरे । अस्पतालबाट डिस्चार्ज भएर घर जाने ठाउँहरु नभएकाहरु र गर्भवती तथा सुत्केरीहरुलाई विशेष ब्यवस्था गर्न समेत माग गरेका छन् ।
तस्करी र गडबडी गर्नेलाई कारवाही होस

प्रचण्डले एक कम्पनीले विदेशबाट करोडौंका सामग्री रेडक्रशको स्टिकर लगाएर ल्याएको भन्ने विषयमा सरकार गम्भिर हुनु पर्ने बताए । उनले राहतका सामग्री लुकाउने, लुट्ने र अफवाह फैलाउनेहरुलाई समेत कारवाही गर्न माग गरे ।

0 comments

Write Down Your Responses