एक मिनेटको कम्पनपछि अनुभूति

काठमाडौ, जेष्ठ १६ - हाम्रो पुस्ताले यसअघि भोगेको सबभन्दा ठूलो भुईंचालो २०४५ सालको थियो । तर, त्यो यसपटकको जस्तो पक्कै थिएन । विध्वंस त उसबखत पनि मच्चाएको थियो, तर अहिलेजस्तो भूकम्प र पराकम्पको लामो शृंखलाबद्ध प्रहार भने खेप्नुपरेको थिएन । त्यसैले यो त्रासदी’ ९० सालको महाभूकम्पपछि अर्को घुम्तीको घटना हो सायद अरू केही दशकका लागि । वैशाख १२ को त्यो चानचुन ‘एक मिनेट’ को अनेक कथा नेपाली समाजमा पछिसम्म चलिरहनेछ ।

शनिबार मध्यान्ह, म घरमै पंकज मिश्रको एउटा लेक्चर युट्युबमा हेरिरहेको थिएँ, टेबलमा राखेको चियाको कप राम्रैसँग हल्लिन थाल्यो । अर्को कोठाको टीभी सेट भुईंमा खस्दासम्ममा प्रस्ट भइसकेको थियो– धक्का चानचुने होइन । चार तलामाथि प्राकृतिक पिङ–खेलाइ आफैंमा आतंकपूर्ण छँदैथ्यो, त्यसमाथि सामुन्नेको फ्ल्याटका एक नवआगन्तुक विदेशीले आत्तिएर रुँदै समातेपछि सिँढी झर्न नपाउँदा झन् सकस ! अरू बेला घर सबभन्दा सुरक्षित थलो हुन्थ्यो, भुईंचालो आउँदा यहींबाट भाग्न हतारो !

जेनतेन तल झरेपछि दोधार भयो– पहिले छाउनी जाऊँ कि तीनकुने? श्रीमती कोलकातामा थिइन्, छाउनी ठूलीआमाकहाँ रहेको छोरोसँग बल्लतल्ल फोन सम्पर्क भएपछि गाडी मोडियो तीनकुने कार्यालयतर्फ । केही पेसा यस्ता हुन्छन्, जसलाई भूकम्पले पनि छुट दिँदो रहेनछ । जमिन बेतोडले हल्लिँदा केही सहकर्मी कान्तिपुर न्युजरुमभित्रै थिए । छेवैको कान्तिपुर टेलिभिजनको स्टुडियोमा समाचार पढ्ने तयारी हुँदै थियो । सबैजना हुर्रिंदै सडकमा निस्किए । एउटा भवन चर्किसकेको र कम्पन–क्रम कायमै रहेकाले अग्लो अफिसमा उक्लन सम्भव पनि भएन । हामीले सडकलाई नै तत्कालको कार्यथलो बनाउने तय गर्‍यौं ।

अन्योलका बेला अफवाहहरू चर्कैसँग फैलने गर्छन् । त्यसलाई चिर्न पनि आधिकारिक सूचना प्रवाह जरुरी भयो । ई–कान्तिपुरका साथीहरूले ल्यापटप जोडेर सडकबाटै अनलाइन अपडेट गर्न थाले । अनि कान्तिपुर टेलिभिजनको प्रत्यक्ष प्रसारण पनि त्यहींबाट थालियो । भर्खरै कार्यभार सम्हालेका केटीभी समाचार प्रमुख दिलभूषण पाठकका निम्ति चुनौतीपूर्ण अवसर बन्यो त्यो । ओबी भ्यानमाथि चढेर समाचार वाचन हामीकहाँ विरलै देखिने दृश्य थियो । अनि ई–कान्तिपुरको नियमित अपडेटले देश–विदेशमा तात्तातै सूचना पुर्‍याउन सक्यो ।

सायद रातको समय परेको भए या बिदाको बार नपरेको भए त्यो दिन मानवीय क्षति र त्रासदी अरू बढी हुन सक्थ्यो । अनि त्यत्रो भुईंचालो जाँदा पनि सडक, विमानस्थल, टेलिफोन, बिजुली, खानेपानी, इन्टरनेटलगायतका पूर्वाधारमा उति बिघ्न धक्का नपुग्नु हाम्रा निम्ति ठूलै ‘सहुलियत’ सावित भयो । त्यही भएरै खोजी तथा उद्धार कार्य तुरुन्तै सुरु हुन सक्यो । त्यस्तो बेलामा रिपोर्टिङका निम्ति थोरै आँट भए पनि धेरै कुरा पुग्थ्यो, जसमा साथीहरूले बिल्कुलै कमी महसुस हुन दिएनन् ।

भनिन्छ, संकटको बेला नै क्षमताको असली परीक्षण हुन्छ, कान्तिपुर टिमका निम्ति पनि त्यो परीक्षाको अर्को घडी थियो । कार्यालय भवन चर्केर पस्न सकिने अवस्था थिएन, बाटोमै बसेर समाचार लेख्न/छाप्न प्राविधिक रूपले सम्भव थिएन, तापनि भोलिपल्ट जसरी पनि पत्रिका निकाल्नैपर्ने थियो । केहीले सुझाव दिएझैं केही दिन प्रकाशन स्थगन गर्ने पक्षमा पनि हामी थिएनौं । त्यसैले विकल्पको खोजी अनिवार्य बन्यो ।

धन्यवाद व्यवस्थापनलाई, जसले छापाखाना परिसरमा कायम राखेको खुला थलोलाई आकस्मिक न्युजरुम बनाउन सकियो । त्रसित माहोल कायमै रहँदा पनि साथीहरू जुटे, र यहाँको ‘सेड’ र खुला चौरमा ल्यापटप लिएर काम थाले । अन्य विभागका सहकर्मीहरूको तत्परतामा प्राविधिक बन्दोबस्त युद्धस्तरमा सम्भव तुल्याइयो । भोलिपल्ट केही पालहरू टाँगिए । अनि केही दिनमा गोदाम खाली गरिएपछि अन्तत: पत्रिका छाप्ने न्युजप्रिन्ट राख्ने ठाउँ नै हाम्रो न्युजरुम बन्न पुग्यो । यही ठाउँमा बसेर हामी एक महिनादेखि काम गरिरहेका छौं, पहिलेभन्दा अत्यन्त फरक परिवेशमा ।

अनि साथीहरूको पीडा उत्तिकै असामान्य थियो/छ । राजनीतिक ब्युरोका कुलचन्द्र न्यौपाने राति अबेरसम्म समाचार लेखिरहेका थिए, उनले मध्यरातमात्र थाहा पाए– सीतापाइलामा घरभित्र चेपिएर भान्जीको निधन भएको, अनि बहिनीलाई सिकिस्त अवस्थामा अस्पताल पुर्‍याइएको (कोमामा राखिएकी बहिनी पनि केही दिनमा बितिन्) । गोरखा संवाददाता सुदीप कैनी भूकम्पमा परेर हजुरआमाको निधन भएको खबर सुन्दा बारपाकतर्फ उकालो लाग्दै थिए । इपिसेन्टरमा पुगेर रिपोर्टिङ गर्ने पहिलो नेपाली पत्रकार सम्भवत: उनी नै भए । समाचार सम्पादक हरिबहादुर थापाको काभ्रेको गाउँ नै सखाप भएको थियो । आफ्नो घर र निकट नातेदारहरू गुमाए पनि कार्यथलोबाट उनी विचलित भएनन् ।

दोलखा, सिंगटीको घर ध्वस्त भएको र परिवारसँग सम्पर्कै नभएको अवस्थामा पनि मकर श्रेष्ठ खटेर काम गरिरहेका थिए । केही दिनपछि मात्र उनले आफ्ना बुवालाई उद्धार गरेर काठमाडौं ल्याउन सके । दोलखाका राजेन्द्र मानन्धरदेखि रसुवाका कृष्ण थापासम्म दर्जनभन्दा बढी संवाददाताहरूको घर भत्कियो, थुपै्रले आफन्त गुमाए । कान्तिपुरको अन्य विभागमा कार्यरत कर्मचारीहरूको अवस्था पनि यस्तै रह्यो । तैपनि प्राय:जसो काममै डटिरहे । र, नै कान्तिपुर निस्किरहन सक्यो आफ्नै पूर्वआकारमा ।

पत्रकारका निम्ति असामान्य अवस्था प्राय: अवसरका रूपमा आउँछ । राजनीतिक संकट होस् या प्राकृतिक विपत्ति– रिपोर्टिङका थुपै्र नयाँ विषयहरू उपलब्ध हुन्छन् । भूकम्पबाट आफैं प्रभावित/पीडित भए पनि नेपाली पत्रकारहरूका निम्ति पेसागत दायित्वका दृष्टिले यो चरण अभूतपूर्व रह्यो । सँगै हामी कान्तिपुरेहरूका निम्ति अकस्मात आफ्नै कार्यालय गुमाउनुपर्ने दु:खदायी मोड बन्यो यो । काठमान्डू पोस्टका सम्पादक अखिलेश उपाध्यायसँगै बैंककबाट आउँदै गर्दा महाभूकम्पका कारण काठमाडौंको आकाशबाटै फर्कनुपरेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले दोस्रो दिन यहाँ उत्रिनासाथ गरेको अप्रिय तर आवश्यक निर्णय थियो– कान्तिपुर पब्लिकेसन्स रहेको चर्किएको भवन भत्काउने ।

नेपाली पत्रकारितामा कान्तिपुरको जुन स्थान छ, त्यससँगै देखे–जानेका व्यक्तिहरूले कान्तिपुरको तीनकुने, सुविधानगरस्थित दुइटा अग्ला जुम्ल्याहा भवनहरू सम्झने गर्छन् । तीमध्ये कान्तिपुर टेलिभिजन रहेको उस्तै आकारको एउटा भवनमात्र अब रहनेछ, अर्को भौतिक रूपमा बाँकी रहनेछैन, स्मृतिमा सीमित हुनेछ । अहिले भत्काइँदै गरेको यो भवन २०५७ सालमा कान्तिपुर सरेपछिका थुप्रै आरोह–अवरोहहरूको साक्षी हो । त्यसको दुई वर्षपछि म यो प्रकाशन गृहमा आवद्ध भएको थिएँ, जसयता दुइटा घटनाहरू उल्लेखनीय छन्, जसलाई यो भवनले बेहोर्‍यो । त्यसमध्ये एउटा २०६० भदौ १६ को दंगा थियो भने अर्को २०६१ माघ १९ को शाही ‘कु’ ।

इराकमा १२ नेपाली मारिएको विरोधमा उर्लेको दंगाको बीचमा एउटा अनपेक्षित आक्रमण भएको थियो ‘भदौ १६’ मा कान्तिपुर भवनमाथि । घन्टौंसम्म कान्तिपुरमा ढुंगामुढा, तोडफोड र आगजनी गरिँदा, गाडीहरू जलाइँदा पनि प्रहरी आएन या आउन सकेन । सेनाको एउटा टुकडी उद्धारमा आएपछि मात्र आक्रमणकारीहरू भागे, सम्भावित अझ ठूलो अनिष्टबाट त्यो भवन जोगियो ठूलै क्षतिका बाबजुद ।

दशकअघि ‘माघ १९’ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हत्याउने क्रममा पनि सैनिक टुकडी कान्तिपुर छिर्‍यो, तर अघिल्लो वर्षजस्तो सञ्चारगृहलाई जोगाउन होइन नियन्त्रणमा लिन । त्यसबखत म कान्तिपुरको सहप्रकाशन नेपाल म्यागेजिनको सम्पादक थिएँ, तर देशबाहिर रहेकाले त्यो ऐतिहासिक घटनाक्रम प्रत्यक्ष देख्न पाइनँ । पछि सहकर्मी प्रशान्त अर्यालले पत्रिकाका सेन्सर गरेर कोरिएका कपीहरू देखाए । उसबेला कलम चलाउने ‘सुपर सम्पादक’ को भूमिकामा थिए– बन्दुक बोकेर आएका सैनिक अधिकारीहरू । कान्तिपुर भवनले बन्दुकधारीको नियन्त्रणमा रहनुपर्ने त्यो असामान्य क्षण पनि गुजार्‍यो ।

नेपाली राष्ट्रिय जीवनमा प्रभाव पारेका अनेक राजनीतिक–सामाजिक उतारचढावको चित्रण पत्रकारहरूले यहींबाट गरे । पत्रकारहरूको आउने–जाने क्रम पनि यसले देखिरह्यो । वर्षौं यहीं बसेर काम गरिरहेका कान्तिपुरेहरूका निम्ति त यो भवन दैनन्दिन जीवनको अंगसरह बन्यो । एक महिनायता प्रकृतिले त्यसमा जबर्जस्ती क्रमभंग गरिदिएको छ ।

चलनचल्तीको एउटा भनाइ छ– ध्वंसपछि नै नयाँ निर्माण हुन्छ । अहिले कान्तिपुरका सन्दर्भमा पनि यही भनाइ दोहोर्‍याउन सकिन्छ । किनभने, भावनात्मक रूपमा धक्का पुगे पनि आखिर भौतिक क्षतिभन्दा ठूलो मनोबल हुँदो रहेछ, जसको कमी हामीकहाँ रत्तिभर खट्किएको छैन ।

0 comments

Write Down Your Responses