सिन्धुपाल्चोकको यमुनाडाँडामा हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु [फोटोफिचर]

यमुनाडाँडा (सिन्धुपाल्चोक), जेष्ठ २० - भूकम्पपछिका राहत सामग्री वितरण कार्यक्रमअन्तर्गत मंगलबार तेस्रो पटक सिन्धुपाल्चोकको बतासेडाँडा–४ मा पुगेका थियौं। निर्देशक समाज र चलचित्र पत्रकार संघको संयोजनमा उक्त डाँडामा पीडितका लागि अस्थायी टहरा निर्माण गरिरहँदा पत्रकार कुबेर डंगोलले सबैको ध्यान ताने। ‘लौ हेर्नुस् त, त्यो हेलिकप्टर कति नजिकबाट पो आउँदैछ त?’ साँच्चै हेलिकप्टर जलविरे बजारको माथि मुस्किलले एक सय मिटर उचाइमा थियो होला। मैले भिडियो खिच्नका लागि तयारी गर्दागर्दै हेलिकप्टर बतासिएर ओझेल पर्‍यो। त्यतिन्जेलमा ‘विमानचालक’ टेलिफिल्म निर्देशन गरी चर्चा कमाएका दिनेश डीसीले आफ्नो पोजिसनभन्दा तल देखिएको हेलिकप्टरलाई लगाइरहेको सर्ट फुकालेर हल्लाए।

सँगैका साथी दीप विमलीले फोटो खिच्न भ्याइहाले। केही छिनपछि काठमाडौंबाट फोन आयो, ‘सिन्धुपाल्चोकको यमुनाडाँडामा हेलिकप्टर खस्यो।’ अनियन्त्रित गतिमा केही क्षणअघि गएको सोही हेलिकप्टर भन्ने अनुमान लगाउन गाह्रो परेन। हामी केही पत्रकार टोली तत्काल गाडी लिएर घटनास्थलतर्फ लाग्यौं। बाटोमा थाहा पायौं, हेलिकप्टर उद्धारका लागि प्रयोग भएको माउन्टेन हेलिकप्टर रहेछ। बाटोमा जाँदै गर्दा बीचमा दुई स्थानीय युवा पनि चढे घटनास्थलतर्फ जान। उनीहरूले पनि हेलिकप्टरको अनियन्त्रित उडानले चकित परेको सुनाए। एकले भने, ‘म त पल्लो डाँडामा ठोकियो अब भन्दाभन्दै मोडिएर यताको डाँडातर्फ आयो र स्पिडमा अघि बढ्यो।’ हेलिकप्टर बलेफी खोलाको खोंच हुँदै अनियन्त्रित गतिमा उडेको थियो। बतासे डाँडाबाट सडकमार्गबाट १० किलोमिटरको घटनास्थल दूरी पुग्न गति र हवाई दूरीका हिसाबले सायदै उक्त हेलिकप्टरले १० सेकेन्ड खर्चियो होला। हतारिँदै घटनास्थल पुग्दा भने सवार चारै जनाको मृत्यु भएको दु:खद खबर थाहा पायौं। सम्भवत: कम उचाइका कारण हेलिकप्टरले बिजुलीको हाइटेन्सन लाइन छोएपछि गडबडी भएको प्रत्यक्षदर्शीले बताए। ‘तारमा छोएपछि डाँडामा आएर ठोक्कियो अनि पछारियो,’ प्रत्यक्षदर्शी एकले लासहरू पनि कुनै सुनकोसीमा र कुनै जंगलमा छरिएको उल्लेख गरे। हामी पुग्दा हेलिकप्टरको क्षतिग्रस्त इन्जिनमा आगो लागिरहेको थियो भने जंगलमा समेत लागेको थियो। राति अबेरसम्म पनि जंगलको आगो निभाउने पहल हुन सकेन। घटनास्थलबाट केही तस्बिर र सूचना सम्प्रेषण गरेर सोझै काठमाडौं आयौं। बाटोमा टिप्पणी पनि चल्यो, ‘यसपालि सिन्धुपाल्चोकलाई साँच्चै दशा लागिरहेको छ।’

Sourses:ekantipur

0 comments

Write Down Your Responses