संविधान र राष्ट्रिय सरकार प्याकेजमै टुंगो लगाइने

काठमाडौ, जेष्ठ १७ - प्रमुख राजनीतिक दलबीच संविधानको अन्तर्वस्तु र प्रकृयामा सहमति गरेरमात्रै राष्ट्रिय सहमतिको सरकारको खाका सार्वजनिक गर्ने समझदारी भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाको बैठकले संविधानको अन्तर्वस्तु र राष्ट्रिय सहमतिको सरकार प्याकेजमै सहमति गर्ने निर्णय गरेको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिए । तर, कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले भने संविधान जारी भएपछि मात्रै राष्ट्रिय सहमतिको सरकार बन्ने दावी गरे ।

‘संविधान बनाएर जारी गर्ने बेलासम्मका लागि वर्तमान सरकारकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने हाम्रो पहिलो प्रस्ताव हो,’ खड्काले भने, त्यसमा सहमति हुन सकेन भने संविधान फास्ट ट्रयाकबाट सकेसम्म चाँडो जारी गर्ने र राष्ट्रिय सहमतिको सरकार बनाउन पनि हामी तयार छौं ।’

राष्ट्रिय सहमतिको सरकार कहिले गठन गर्ने भन्ने विषयमा कांग्रेस र एमालेबीच केही तिक्तता बैठकमा प्रकट भएको स्रोतले बतायो ।

भूकम्पपछिको पुर्ननिर्माणको कामका लागि पनि तत्काल राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको एमालेको तर्क थियो । तर, कांग्रेसले संविधानको अन्तर्वस्तुमा सहमति जुटेमा असार मसान्त भित्रैमा संविधान जारी गर्न सकिने भन्दै त्यसपछि राष्ट्रिय सहमतिको सरकार बनाउन उपयुक्त हुने धारणा राखेको थियो ।

बैठकमा एमाओवादीले पनि संविधानको अन्तर्वस्तुमा सहमति जुटाएर राष्ट्रिय सहमतिको सरकार बनाउन उपयुक्त हुने विचार प्रकट गरेका थिए । संविधानको अन्तर्वस्तु र राष्ट्रिय सहमतिको सरकार कहिले गठन गर्ने भन्ने विषयमा समझदारी जुटाउन सोमबार प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी मोर्चाका तर्फबाट मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजय गच्छदारबीच मात्रै छलफल हुने भएको छ ।

बैठकले आन्तरिक छललफलपछि चार नेतालाई राष्ट्रिय सहमतिको सरकार र संविधानको अन्तर्वस्तु टुग्याउने जिम्मेवारी दिएको हो ।

0 comments

Write Down Your Responses