राष्ट्रिय एकताको भावनालाई बुझेनौँ भने फेरि अर्को राजनीतिक भूकम्प आउनेछ

वैशाख १२ गते दिउँसो ११ः५६ बजेको समय नेपालको इतिहासमा बिर्सनै नसकिने त्रासदिपूर्ण घटनाका रुपमा नेपाली जनतासामु आयो । यसले अकल्पनीय जनधनको क्षति भयो । र, एउटा ठूलो राष्ट्रिय शोक र संकटको स्थिति आयो । यो राष्ट्रिय पीडाको स्थितिमा अब हामी कसरी अगाडि जाने भन्ने चुनौतीपूर्ण प्रश्न आमनेपाली जनता, बुद्धिजीवी, राजनीतिक दल र नेताको अगाडि उभिएको छ । यो एउटा राष्ट्रिय शोक पक्कै पनि हो । राष्ट्रिय पीडाको स्थिति पनि हो । तर, यसलाई राष्ट्रिय शक्तिमा बदल्नुपर्छ भनेर म आफैँ लागेको छु । सबैभन्दा पहिले त राष्ट्रिय एकताको खाँचो छ । सबै राष्ट्रिय शक्तिहरू एकजुट भएर यो विपत्तिको सामना गर्नुपर्छ । यो शोकलाई शक्तिमा बदल्ने प्रतिबद्धता, संकल्प गर्नुपर्छ । व्यवस्थापिका संसद्को बैठक बसेर एउटा राष्ट्रिय संकल्प पारित गर्नुपर्छ । हामी नेपालीले नै देश बनाउने हो, यो संकल्पसहित हामी आत्मनिर्भरताको मार्गतर्फ बढ्नुपर्छ । नेपाली जनतालाई कुनै पनि हालतमा कसैको पनि दयामायाको पात्रको रुपमा होइन, भिखारीका रुपमा होइन, एउटा आत्मसम्मानसहित स्वावलम्बन अवलम्बन गर्ने स्वाभिमानी नेपालीको रुपमा नै स्थापित गर्नुपर्छ । यसमै हाम्रो जोड छ । मैले सुरुदेखि नै यही दिशातर्फ बढ्न आफ्नो तर्फबाट भूमिका खेल्ने कोसिस गरेँ । मैले व्यवस्थापिका संसद् र सार्वजनिक रुपमा पनि पटकपटक भनेको छु— दुनियाँमा जति पनि सभ्य र विकसित राष्ट्र छन्, यस्तै राष्ट्रिय विपतको घडीमा धैर्य नगुमाईकन एकताबद्ध भई देश बनाउने ऐतिहासिक संकल्प गरेरै त्यो स्थानमा पुगेका हुन् । यो तथ्यलाई हामीले बिर्सनु हुँदैन । र, यस्तै विपतको घडीमा नै सम्हालिन सकेनन्, जनतामा धैर्य र मनोबल बनाइराख्न सकेनन् भने कति राष्ट्र भताभुंग र धराशयी हुने गर्छन् । त्यसैले हाम्रोमा जुन विनाशकारी भूकम्प आयो, यो एउटा ठूलो ऐतिहासिक चुनौती हो भने एउटा ऐतिहासिक अवसर पनि हो । यो चुनौतीलाई अवसरमा बदल्नका निम्ति हामीमा अद्भूत एकता, धैर्यता, साहस र मनोबल आवश्यक छ । अहिले यसैमा मेरो जोड रहँदै आएको छ । यहाँसम्म आइपुग्दा मलाई थोरै सन्तोष पनि छ— जुन दिशातिर देशलाई लैजान खोजेको हो, जुन नयाँ नेपालको सपना हामीले हिजो क्रान्तिको बेलामा देखेको हो, बिस्तारै–बिस्तारै देश त्यही दिशातिर अगाडि बढ्दै छ । अहिले यो भूकम्पबाट लाखौँ घरहरू, ऐतिहासिक धरोहरहरू क्षतविक्षत भएका छन् । यहीँबाट महासंकल्प गरेर नवनिर्माणको अभियान चलाउनुपर्छ । आफैँमा यो विश्वास जगाएर हेर्दा के देखिन्छ भने, क्रमशः समाज नयाँ नेपाल निर्माणको दिशातर्फ अघि बढिरहेको छ । हामीले सर्वदलीय बैठकहरूमा तिनै संकल्पहरू गर्यौँ । व्यवस्थापिका संसद्मा २७ बुँदे राष्ट्रिय संकल्प त्यही दिशातिर पारित भयो । मैले प्रतिपक्षी नेताको हैसियतले संसद् बोलाउन र संकल्प प्रस्ताव पारित गर्न महत्वपूर्ण भूमिका खेलेँ । यो विपतले दिएको नेपाली जनताको घाउमा मलम लगाउन राष्ट्रिय एकताको भावनासहित देश र देशबाहिरका नेपाली युवा जसरी स्वस्फूर्त स्वयंसेवक रुपमा अगाडि आए, यसले निकै उत्साहप्रद भविष्यको प्रस्ट संकेत गरेको छ । अहिले राजनीतिक दलहरू, जनवर्गीय संगठनहरू, अरु विभिन्न संघ–संस्थाहरू र आमयुवाहरू जसरी आफ्नै ढंगले परिचालित भएका छन्, अब यसलाई संगठित रुपले लैजाने हो भने, केही वर्षभित्रै हामीले परिकल्पना गरेको नयाँ नेपाल बन्न सम्भव छ ।

हामीले यस्ता घर–आवास, विद्यालय, कार्यालय आदि संरचना भावी पुस्तालाई दिन सक्छौँ, जसलाई आठ–नौ रेक्टरका भूकम्पले हल्लाउन सक्नेछैनन् । अहिले यो राष्ट्रिय एकताको भावना र नवनिर्माणको जो जागरण पैदा हुन खोजेको छ, यसलाई ठीक ढंगले संस्थागत र संगठित गर्न सकियो भने हामीले आफ्नै खुट्टामा उभिएर, आफ्नै धर्तीमा टेकेर नयाँ नेपाल बनाउन सक्छौँ । अन्तर्राष्ट्रिय सहयोगलाई पनि सदुपयोग गर्न सक्छौँ । यदि हामी आफैँ आफ्नो खुट्टामा टेकेनौँ, स्वावलम्बन भएर आफ्नो देश आफैँ बनाउँछौँ, आफ्नो गाउँ आफैँ बनाउँछौँ, आफ्ना विद्यालयहरू, धरोहरहरू हामी आफैँ निर्माण गर्छौं भन्ने संकल्प गरेनौँ र विदेशले दिएको सहयोगको भरमा मात्रै देश बन्छ भन्ने ठान्यौँ भने त्योभन्दा दुर्भाग्य अरु केही हुँदैन । हामीले इतिहासमा हेर्न सक्छौँ र वर्तमानमा पनि देखिरहेका छौँ, दुनियाँमा त्यस्ता देशहरू जो अरुको सहयोगमा भर पर्न खोजे, ती देशको अस्तित्व अहिले एउटा लज्जास्पद ठाउँमा पुगेको छ । ती देशका जनतालाई भिखारीको रुपमा विश्वले चिनेको छ । न त्यहाँ समृद्धि आयो, न नवनिर्माण आयो । न केही आयो । यस्ता थुप्रै उदाहरण छन् । त्यसबाट शिक्षा लिएर हामी नेपालीहरू ठीक ढंगले आफ्नो खुट्टामा टेक्यौँ, यो जागरण जो पैदा हुन खोजेको छ, राष्ट्रिय एकताको जो मजबुत भावना पैदा भएको छ, त्यसलाई संगठित र संस्थागत रुपले अगाडि बढाउन सक्यौँ भने, मलाई लाग्छ, पाँच वर्ष भित्रमा हामीले देशलाई नयाँ ठाउँमा पुर्याउन सक्छौँ । मैले व्यवस्थापिका संसदमा ठीक यही स्प्रिटमा भनेको हो । अहिले यो कामको कोअर्डिनेसन राज्यले गर्नुपर्छ, सरकारले गर्नुपर्छ । सरकार, राज्य बलियो ढंगले आउनुपर्छ । यदि त्यसो भएन भने जनतामा आएको स्वतस्फूर्त एकता, केही गर्यौँ भन्ने जागरण र भावनाले मात्रै सम्पूर्ण चिजलाई ठीक गर्छ भन्ने होइन । दुर्भाग्य के भयो भने, हाम्रो राज्य र हाम्रो सरकारले यो कुरालाई बुझ्न सकेको छैन । अझ अहिले देशको बागडोर सम्हालेकाहरुमा यति निरीहता, अकर्मण्यता, भिजन विहीनता, संकल्प विहीनता जो देखापरेको छ, यो हामी सबैका निम्ति गम्भीर चिन्ताको विषय हो । प्रतिपक्षले समेत हामी सहयोग गर्छौं भनेका बेला पनि सरकारबाट कुनै भिजन, कुनै योजना आएका छैनन् । पीडित जनतामा ठीक ढंगले, पारदर्शी र प्रभावकारी ढंगले राहत वितरण हुन सकेका छैनन् । अझ उल्टै राहतमा गम्भीर प्रकृतिका चलखेलहरू, भ्रष्टाचारहरू, बेइमानीहरू देखापरेका छन् । सरकारकै मन्त्रीहरूबाट नै यस खालका आचरण नांगै देखिएका छन् । यसले केही गम्भीर स्थिति देखापरेको छ ।

हामी सरकारलाई फेरि पनि एकचोटि चेतावनी र चुनौती दिन चाहन्छौँ— तिमीहरू सुध्र, जनताको एकता र स्वयंसेवी भावनालाई बुझ, प्रतिपक्षले इतिहासको यो संकटमा साथ दिन खोज्नुको तात्पर्यलाई बुझ, राष्ट्रिय एकताको महत्वलाई बुझ, यदि यसलाई बुझेनौँ भने छिटै फेरि अर्को राजनीतिक भूकम्प आउनेछ । र, त्यो राजनीतिक भूकम्पले तिमीहरूको सम्पूर्ण स्थितिलाई धराशयी बनाउनेछ । जसरी अहिले जनताका घरहरू, विद्यालयहरू, स्वास्थ्य चौकीहरू, ऐतिहासिक धरोहरहरू क्षतविक्षत भएका छन्, त्यो भग्नावशेषमा तिमीहरूको अस्तित्वलाई जनताले गाड्नेछन् । यो कुरा नसम्झेर यस्तो बेला पनि राहतमा भ्रष्टाचार गर्ने, चलखेल गर्ने, अपारदर्शी हुने, आफ्नो ठाउँमा आफ्ना मान्छेलाई मात्रै राहत सामग्री बाँड्ने, दूरदराजका गरिब जनतालाई बेवास्ता गर्ने गरियो भने त्यसको परिणाम घातक हुन्छ । मैले यो कुरा सकारात्मक उद्देश्यका साथ भनेको छु । यसलाई सकारात्मक रुपमा लिइएन भने त्यसको परिणाम भयानक हुन्छ । नेपाली जनता महान् छन्, नेपाली युवाहरू महान् भावनाका साथ यो विपतका बेला सघाउन परिचालन भइरहेका छन् । सरकारले यसलाई बुझ्न सकेन, यसलाई संस्थागत रुप दिन सकेन भने छिटै नयाँ ढंगले जनता अगाडि आउँछन् । र, नयाँ ढंगले नेपाल बनाई छाड्छन् । मलाई विश्वास छ, दुनियाँको कुनै पनि ताकतले नेपाली जनताको आत्मसम्मान, उनीहरूको आत्मनिर्भरता र उनीहरूको स्वाधीनतालाई दायाँबायाँ गर्न सक्नेछैन । नेपाली जनताले इतिहासका थुप्रै विपतका घडीहरू पार गरेर आएका छन् । अहिले यो विपतलाई पनि जनताले एकता, धैर्यता र साहसबाट पार गर्नेछन् । यही विश्वास म व्यक्त गर्न चाहन्छु । आमजनतालाई यसैको निम्ति अपिल गर्न चाहन्छु । सम्पूर्ण सञ्चारकर्मीले यही भावना निरन्तर सम्प्रेषित गर्नका लागि अपिल गर्न चाहन्छु । यसरी मात्रै हामीले नयाँ नेपाल बनाउन सक्छौँ ।

0 comments

Write Down Your Responses