थारु–पहाडीको प्रश्न, रगतको सम्बन्धमा किन झगडा ??????

धनगढी: कैलालीको अत्तरिया नगरपालिका–१२ का ६४ वर्षका डम्बर साउदले थारु युवतीसँग भगाएर विवाह गरेको पनि ४० वर्ष भयो । सोही गाउँकी जगलाल चौधरीकी छोरी ध्योमुनि चौधरीसँग उनले प्रेम विवाह गरेका हुन् ।

चार दशकअघिको थारु समाजमा पनि ससुराली पक्षले त्यो विवाहलाई सहजै पचायो । त्यसपछि साउद परिवार र थारु समुदायको विहेवारी नै चल्यो । डम्बरका जेठा छोरा राजु साउदले पनि अत्तरिया नगरपालिका–१२ का बीरबहादुर चौधरीकी छोरी कलावतीसँग विवाह गरे ।


यो उनको मागी विवाह थियो । माइला छोरा कमल साउदको पनि धनगढी नगरपालिकासँग जोडिएको फुलवारी गाविसकी दीलकुमारी चौधरीसँग विवाह भयो । कमलको विवाह भएको पनि १६ वर्ष भइसकेको छ । आफ्नो प्रेम विवाह र छोराहरूको मागी विवाह गरेका डम्बरले कान्छी छोरी शान्ति साउदको विवाह पनि थारु युवासँग गराएका छन् । शान्तिसँग अत्तरिया नगरपालिकाकै दशिराम चौधरीले २०५५ सालमा विवाह गरे ।


‘दशैंका बेला सम्धी पट्टीका सबैजना मेरो घरमा आउँछन् । टीका जमरा लगाइन्छ’ डम्बरले खुसी हुँदै भने । ‘माघीमा हामीले सम्धीको घर छाड्दैनौं ।’ थारु समुदायको दशैं भन्दा पनि ठूलो चाड माघी हो । ‘हाम्रोमा दशैंमा बोका ढालिन्छ भने थारु सम्धीकोमा माघीमा बंगुर । यो हामी दुवै समुदायको परम्परा हो’ उनले भने ।

अत्तरिया नगरपालिका मात्रै होइन, कैलालीको धेरै नगरपालिका र गाविसमा थारु र पहाडी समुदायबीचमा रगतको सम्बन्ध छ । धेरै थारु र पहाडी समुदायबीच विहेबारी चलेको छ । एकले अर्कोको चाडमा रमाउने गरेका छन् भने दुःख पिडाका बेला एकअर्कालाई सघाउने गरेका छन् ।

भदौ ८ गते सोही गाउँमा मृत्यु भएका चन्द्रराज पनेरुको मलामीमा सहभागी तीन सयजनामध्ये दुई सयजना राना र थारु समुदायका रहेको वडा नागरिक मञ्चका उपाध्यक्ष टेकबहादुर बुढाले बताए ।


‘यसरी मिलेको समाजमा अहिले काटमार भइरहेको छ । दाजुले भाइको हत्या गरिरहेको छ । चाहे सुदूरपश्चिम टुक्रियोस वा नटुक्रियोस । हामी बस्ने यही ठाउँमा हो भन्ने कुरा बुझ्नुपर्छ’, उनले भने ।

भदौ ७ गते भएको टीकापुरको हिंसात्मक घटनापछि अत्तरिया नगरपालिका–१२ गेटीगाउँका ३ सय ६० घर परिवार थारु, रानाथारु र पहाडी समुदाय सामाजिक सद्भाव नखल्बलियोस भनेर सचेत छन् । ‘कसैको व्यक्तिगत झगडा भयो भने पनि, त्यसलाई जाती विषेशमा नजोड्ने हामीले निर्णय गरिसकेका छौं । समाजिक मेलमिलाप समितिले झगडियाबीच मेलमिलाप गराई हाल्छ’ वडास्तरीय सामाजिक मेलमिलाप समिति सदस्य सोनादेवी चौधरीले भनिन् ।

‘आन्दोलनमा सहभागी भएर गाउँ फर्किएपछि, आन्दोलनका कुरा गाउँमा आएर गर्न पाइदैन । समुदायलाई दुःख लाग्ने गरी कसैले कसैलाई होच्याउने कुरा गर्न पाइदैन’ गेटी गाउँका थारु भलमन्सा यज्ञराज चौधरीले भने ।

‘मेरो घरको उत्तरतिर पहाडी समुदायका शेरबहादुर खत्रीको साँध छ । पूर्वमा डिल्लीराज ओझाको । यस्तै दक्षिणमा मीनबहादुर खत्री र पश्चिममा पदम पन्तको आली जोडिएको छ । साँधसीमाना जोडिएको ठाउँमा, पहिलो काम लाग्ने व्यक्ति छिमेकी नै हुन् । त्यसैले पनि हामी मिलेर बसिएन भने, राजनीतिक फाइदा लिने व्यक्तिले फाइदा लिइहाल्छन्’ उनले भने ।

यज्ञराजकै जस्तो पहाडी मूलका व्यक्ति मोहन चन्दको साँध सीमाना पनि पूर्वमा लाबहादुर चौधरी, पश्चिममा भागिराम चौधरी, महेश चौधरी र बुद्धिराम चौधरीसँग जोडिएको छ ।
‘अव भन्नुस म मात्रै होइन, धेरै पहाडीको साँधसिमाना थारुसँग जोडिएको छ भने धेरै थारुको पहाडियासँग । अनी हामी दुई समुदायका दाजु भाई हौं, हामीबीचमा कलहको विउ रोप्ने राजनीतिक स्वार्थपूर्तिका लागि सत्तामा जाने नेता हुन्’, उनले भने ।

गेटी गाउँका थारु र पहाडी समुदायका व्यक्तिले कैलालीको सामाजिक सद्भाव त्यति बिग्रि नसकेकाले अझै त्यसलाई सहज बनाउन आग्रह गरेका छन् । ‘हाम्रो गाउँ नमुना गाउँ हो । गेटी गाउँको सन्देश अरु ठाउँमा पनि पुर्‍याइदिनुस्’ गेटीका स्थानीय कर्णसिंह बोहराले भने । गेटी गाउँमा बसोबास गर्ने ३ सय ६० परिवारमा चौधरी थारु, खुना थारु, राना थारु र सुदूरपश्चिमको नौ जिल्लाका पहाडी समुदायको टासिएको बस्ती छ ।

गेटीका राना समुदायका अगुवा छोटेलाल रानाको विचारमा पनि थारु पहाडीबीच नङ र मासुकै सम्बन्ध छ । ‘हामी एकै नेपाल आमाका छोराछोरी हौं, नेताले कलहको विउ रोपेकाले डर भने लाग्ने गरेको छ । तराई भर सल्केको आगो गेटाको नमूना सद्भाव भएको ठाउँमा पनि सल्किन्छ भन्ने पिर लागिरहन्छ’ उनले भने ।

0 comments

Write Down Your Responses