नाकाबन्दी हटाउन प्रधानमन्त्री तहमै कुराकानी हुने

नयाँ दिल्ली/काठमाडौ : भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायले नेपालमाथिको नाकाबन्दी हटाएर सक्दो चांडो पेट्रोलियम पदार्थ शुचारु गरिदिन भारतीय पक्षलाई आग्रह गरेका छन् । नेपालीहरुका दशैं, तिहार जस्ता ठूला चाडपर्व नजिकिंदै गएको अवस्थामा पेट्रोलियम पदार्थ रोकिंदा जनताले सास्ती बेहोरिरहेको भन्दै भारतीय बिदेश मन्त्रालयका अधिकारीहरुलाई सोमबार ध्यानाकर्षण गराएका हुन् ।

‘नजिकिंदै गरेका चाडपर्वहरुमा पेट्रोल र बस्तुहरुको माग बढी हुन्छ । त्यसकारण आपूर्ति पनि बढि हुनुपर्छ’ राजदूत उपाध्यायले भारतीय बिदेश मन्त्रालयमा नेपाल डेस्क हेर्ने सहसचिव अभय ठाकुरसंग भने ।

अन्नपूर्णसंग कुरा गर्दै राजदूत उपाध्यायले नेपाल र भारतबीच देखिएको चिसोपना हल गरेर अघि बढ्नु नै अहिलेको विकल्प रहेको आफूले बिदेश मन्त्रालयका अधिकारीलाई बताएको जानकारी दिए ।

उपाध्यायसंगको भेटमा भारतीय बिदेश मन्त्रालयका अधिकारीहरुले सीमामा जारी मधेशी दलहरुको आन्दोलन अन्त्य भई भारतीय ट्रकहरुलाई सुरक्षाको ग्यारेन्टी भए भारतीय सीमा नाकाहरुबाट नेपालतर्फ पेट्रोलियम चांडै शुचारु हुनसक्ने पुरानै कुरा दोहोर्‍याए ।

सो भेटमा राजदूत उपाध्यायले नेपालका जनताले पेट्रोलियम पदार्थ आयात नहुंदा भोग्नुपरेको समस्या बुझिदिन आग्रह गरेका थिए । उनले तराईमा जारी आन्दोलन संबिधान संसोधन गरेर नेपालले हल गर्ने बताएका थिए ।

स्रोतका अनुशार राजदूत उपाध्यायले भारतबाट तेल आपूर्ति हुन नसक्ने भए नेपालले अन्य मुलुकबाट तेल ल्याउन कुटनीतिक पहल गर्नुको विकल्प नरहेको समेत बताए ।

भारतीय प्रधानमन्त्री कार्यालयले निर्देशन दिएअनुशार भारतीय बिदेश मन्त्रालयले नियमित रुपमा सीमा नाकाहरुबाट नेपालतर्फ पेट्रोलियम शुचारु गर्न भारतीय भन्सार, भारतीय आयल निगम तथा सुरक्षा बल एसएसबीलाई शनिबार निर्देशन दिएपनि निर्देशन कार्यान्वयनमा आउन सकेन ।

भारतीय अर्थ र बिदेश मन्त्रालयले राजदूत उपाध्यायलाई शुक्रबार बिहान सम्पर्क गरी भारतीय आयल निगमबाट पेट्रोलियम पदार्थ नेपालतर्फ लैजान कुनै समस्या र अवरोध नआउने जानकारी गराएका थिए । ‘हामीले आइतबार बिदा भएका कारण पेट्रोल र अन्य वस्तु भन्सार नाकाहरुबाट शुचारु हुन नसकेको हो कि भनि कु¥यौँ । तर त्यस्तो पाइएन’ ती उच्च सरकारी अधिकारीले भने ।

नाकाबन्दी खुलाउन प्रधानमन्त्री तहमा कुराकानी हुंदै

भारतले लगाएको नाकाबन्दीका कारण मुलुक नै ठप्प भएपछि प्रधानमन्त्री शुशील कोइरालाले भारतीय समकक्षि नरेन्द्र मोदीसंग केहि दिन भित्रै कुराकानी गर्ने भएका छन् ।

‘अहिले भारतबाट नेपालतिर पेट्रालियम पदार्थ र सामानहरु आउन भइरहेको कठिनाईबारे प्रधानमन्त्रीले केही दिन भित्रै कुरा गर्नुहुनेछ’ प्रधानमन्त्रीका बिदेश मामिला सल्लाहकार डा. दिनेश भट्टराईले अन्नपूर्णसंग भने ।

भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायले भारतीय बिदेश मन्त्रालयका अधिकारीहरुसंग आइतबार अपरान्ह भएको कुराकानीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।

‘भारतीयहरुले कहिलेबाट नेपालतर्फ पेट्रोलियम पदार्थ पठाउन शुरु हुन्छ भन्नेबारे यकिन बताएका छैनन् । तराईमा जारी आन्दोलन अन्त्य भएपछि समस्या समाधान हुन्छ भन्ने पुरानै कुरा दोहोर्‍याएका छन्’ एक उच्च सरकारी अधिकारीले अन्नपूर्णसंग भने ।

राजदूत उपाध्याय र भारतीय राजदूत रेले दिएका जानकारी हेर्दा नाकाबन्दी अझै केही दिन जारी रहने संकेत पाएको उनले बताए ।

उपाध्यायले प्रधानमन्त्री कोइराला र मोदीबीच कुराकानी गर्ने समय मिलाउने प्रयास गरिरहेको बताइएको छ । त्यस्तै कोइरालाले शुक्रबार भएको भेटमा काठमाडौस्थित भारतीय राजदूत रञ्जित रेलाई प्रधानमन्त्री मोदीसंग कुराकानीका लागि समय मिलाइदिन आग्रह गरेका थिए ।

नेपालको नयाँ संबिधान आफूले चाहेको जस्तो नबनेकोमा रुष्ट बनेको छिमेकी भारतले नेपालमाथि ११ दिन देखि नाकाबन्दी लादेको छ ।

नाकाबन्दीका कारण उपत्यका लगायत नेपालभर बिशेषरी पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसको चरम अभाव सिर्जना भएको छ । पेट्रालियम भर्न गएका नेपाली ट्यांकरहरु आइतबार पनि भारतीय भूमिमै रोकिए ।

News:annapurnapost

0 comments

Write Down Your Responses