प्रधानमन्त्री ओलीको आक्रमणमा भारत पर्‍यो (पूर्ण पाठ सहित )

काठमाडौं, ३० कात्तिक – सत्तारोहण गरेको एक महिना पछि प्रधानमन्त्री केपी शर्माले देशवासीका नाममा गरेको सम्बोधन भारतीय नाकाबन्दीमा केन्द्रीत रहेको छ । आइतबार साँझ गरेको सम्बोधनमा उनले नेपालको आन्तरिक विषयलाई लिएर भारतले गरेको नाकाबन्दीले नेपालमा विरामी, विद्यार्थी, भूकम्प पीडित धेरै मर्कामा परेको बताए । सार्वभौम राष्ट्रमाथि भारतले गरेको नाकाबन्दीले नेपालको अन्तर्राष्ट्रिय कानुन उल्लघंन भएको बताए । उनले नाकाबन्दीका कारण सामान्य संहिता समेत उल्लंघन भएको आरोप लगाए ।संविधानमा विभेद भएको भन्नु संविधान अपव्याख्या भएको बताएका उनले सीमानाकामा भएको अवरोध अन्तर्राष्ट्रिय सन्धी विपरीत भएको आरोप लगाए ।





चीन र भारत तथा मित्र राष्ट्रहरुसँग संयुक्त राष्ट्रसंघको घोषणापत्र अनुसार सद्भाव र सहिष्णुतापूर्ण सम्बन्ध नेपालले राख्ने बताएका उनले नेपाल आफ्नो भू–राजनीति प्रति सचेत रहेको बताए । राष्ट्रिय स्वाभिमानमा आँच आउन नेपालले नदिने र यसमा अन्य मुलुकले पनि ख्याल गर्नुपर्ने उनको सम्बोधनमा उल्लेख भएको छ । भारत–नेपालबीच आपूर्ति समस्याले दुई देशबीचको सम्बन्धमा चिसोपना बढेको भन्दै नाकाबन्दी खोल्न भारतलाई आग्रह गरे । दुई देशबीच भएको सहमति कार्यान्वयन गर्न आग्रह गरेका उनले नेपालको समुद्रसम्मको पहुँच रहने अधिकार हनन् भएको बताए । नेपाल मानव अधिकार रक्षा गर्न तयार रहेका पनि बताए ।

नेपालको आन्तरिक समस्या आन्तरिक रुपमै समाधान हुँदै आएको प्रसङ्ग उल्लेख गर्दै उनले अहिले तराईमा देखिएको समस्या पनि समाधान गर्ने विश्वास दिलाए । आफ्नो अधिकारको माग गर्दा अरुको अधिकार ख्याल गर्न आग्रह गरेका ओलीले तराई मधेश आन्दोलनले तराईदेखि हिमालसम्मका जनता पीडित रहेको बताए ।

जारी वार्तालाई सार्थक निष्कर्ष निकाल्न सबैले आ–आफ्नो स्थानबाट पहल गर्न आह्वान गरेका प्रधानमन्त्री ओलीले लोकतान्त्रिक विधि र प्रक्रियाबाट दुई तिहाइ बहुमतबाट जारी भएको संविधानको विरोध गर्नु न्यायोचित नहुने बताए । असन्तुष्ट पक्षको माग संविधान संशोधन गरेर सम्बोधन गर्न सकिने भन्दै उनले आन्दोलन त्याग्न मधेशी मोर्चालाई आग्रह गरे ।आवश्यकताका आधारमा प्रादेशिक सीमा परिमार्जित गर्न सकिने ओलीको भनाइ छ ।

आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारलाई १० लाख दिने सरकारको निर्णय रहेको सुनाएका उनले घाइतेहरुको शीघ्रस्वास्थ्य लाभको कामना गरे । आफ्नो सम्बोधन कुनै देशको विरोधका लागि नभएको स्पष्ट पारेका प्रधानमन्त्री ओलीले काठमाडौंमा विद्युतीय रेल निर्माणको काम थालिने बताए । जग्गा बाँझो नराख्ने नीति अवलम्बन गरिने बताए ।

पुनर्निर्माण गर्दा वातावरणको ख्याल गर्ने र भूकम्प पीडितलाई दिइने दुई लाख रुपैयाँको पहिलो किस्ता तत्काल उपलब्ध गराउने जानकारी दिए प्रधानमन्त्री ओलीले । भूकम्प र नाकाबन्दीका कारण मुलुकको अर्थतन्त्रमा नाकारात्मक असर परेको भन्दै उनले यस विषयमा अर्थमन्त्रालयले छिट्टै स्वतपत्र जारी गर्ने जानकारी दिए ।कृत्रिम अभाव र कालोबजारीलाई नियन्त्रण गर्ने उनले बताए । राष्ट्रिय गौरवका विकास निर्माणका योजनालाई तिव्रता दिइने बताए । पूर्व–पश्चिम राजमार्गलाई चार लेनको बनाउने बताएका उनले सम्भव भए ६ लेनको बनाउन सकिने जानकारी दिए ।




0 comments

Write Down Your Responses