समस्याको समाधान वार्ताबाट मात्रै हुन्छः प्रधानमन्त्री

काठमाडौँ, फागुन १६–प्रधानमन्त्री सुशील कोइरालाले वार्ताबाट नै संविधान निर्माणलगायत मुलुकका सामु रहेका सबै राजनीतिक समस्याको समाधान हुने बताएका छन् । नेपालगन्जको अन्तराल समूहद्वारा आयोजित बिपीको ऐतिहासिक फोटो प्रदर्शनी यात्राको शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा शुभारम्भ गर्दै कोइरालालो यस्तो बताएका हुन् । ‘वार्तामा बसौँ, छलफल गरौँ,’ प्रधानमन्त्री कोइरालाले संविधान निर्माणबारे अत्यन्त विश्वासका साथ भने, “छलफलद्वारा नै समस्याको निदान र समाधान निस्कन्छ ।” सो अवसरमा प्रधानमन्त्री कोइरालाले राजनीतिक दलहरुका बीचमा वार्ता भइरहेको पनि बताए । प्रधानमन्त्री कोइरालाले भने “हामी मुलुकमा संविधान दिने तयारीमा छौँ । संविधान निर्माणसँगै हामी मुलुकमा शान्ति, स्थायित्व, लोकतन्त्रको संस्थागत विकास र आर्थिक विकासमा लागेका छौँ ।” कार्यक्रममा प्रधानमन्त्री कोइरालाले जननायक बिपी कोइरालाले प्रतिपादित गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नीति सर्वकालीक रहेको पनि उल्लेख गरे । उनले जननायक बिपीको सङ्घर्षमय जीवन नेपाली काँग्रेसका कार्यकर्तासहित समस्त राजनीतिकर्मीका लागि पनि प्रेरणादायी रहेको बताए । उनले भारतीय स्वतन्त्रता सङ्ग्राममा भाग लिएर भारतमा समेत जेलनेल भोगेका जननायक बिपी कोइरालाले नेपालमा प्रजातन्त्रको स्थापना र विकासको नेतृत्व गर्दा जेलनेल र प्रवासको सजाय भोग्नुपरेको घटना पनि स्मरण गरेका थिए । प्रधानमन्त्री कोइरालाले नेपाली काँग्रेसले उनको दूरदर्शी नीति र कार्यक्रमलाई नै अबलम्वन गर्दै आएको पनि बताए । प्रधानमन्त्रीले जननायक बिपी कोइरालाको सरकारले १८ महिनाको छोटो कार्यावधिमा गरेको क्रान्तिकारी कामको अहिले सबैले सराहना गरेको पनि बताए । सो अवसरमा प्रधानमन्त्री कोइरालाले देशव्यापी घुम्ती फोटो प्रदर्शनीका प्रतिनिधिमूलक फोटो नेपाल प्रेस युनियन बाँकेका जयनारायण साहलाई हस्तान्तरण गरेका थिए । नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले सञ्चालन गरेका सो कार्यक्रममा नेपाल फोटो पत्रकार सङ्घका क्षितिजअरुण श्रेष्ठले जननायक बिपीका जीवनका बाल्यकाल, राजनीतिक यात्रा, सहित्य सिर्जनाकाल, खेलकुद, बिरामी अवस्थाका फोटो प्रदर्शनीमा राखिने जानकारीदिएका थिए । कञ्चनपुरको चाँदनी र दोधारा गाविसबाट प्रदर्शन सुरु गरिने सो घुम्ती फोटो प्रदर्शनी दुई वर्षमा देशका ७५ जिल्लामा सम्पन्न हुने आयोजकको अनुमान छ ।

0 comments

Write Down Your Responses