छोराहरुको मृत्यु पर्खेर बसिरहेका विवश बाबुआमा|(फोटो फिचरसहित)

दाङ: “जो होंचो उसैको मुखमा घोंचो” भन्ने घतलाग्दो नेपाली उखान त्यसै बनेको रैनछ । यो उखानको नियति यतिबेला भोगिरहेकी छन्, हाँसिपुर गाउँ विकास समिति वडा नं. ८ की हिमा सिञ्जाली ।सिङ्गो संसार र यहाँको वैभव हुँदाहुँदै पनि हिमाका लागि सबै बिरानो बिरानो लाग्छ र एक्लै समस्याहरुको पहाडले किचिइरहेकी छन् उनी । हिमाको तीन महिनाको छोरा अचानक विरामी पर्‍यो । बिरामी काखे छोरा लिएर हिमा उपचारका लागि राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा पुगिन् । उपचार असम्भव भएपछि उनी नेपालगञ्जतर्फ हानिइन् ।त्यहीबेला खबर पुग्यो कि घरमा रहेको अर्को एक बर्षीय छोरा पनि विरामी पर्‍यो । घरको छोरा गम्भीर बन्दै गएपछि उसलाई पनि उपचारका लागि लगियो । सुरुमा निमोनियाको लक्षण देखिएको सानो छोरा समीरलाई मुटुमा समस्या देखियो र काठमाडौं पुराइयो ।माइलो छोरा बसन्तको पनि जिब्रोमा गम्भीर समस्या देखा पर्न थालेपछि काठमाडौं नै लगियो । छोराहरु निको बनाएर ल्याउने सपना बोकेर काठमाडौं पुगेका हिमाको परिवारमा बज्रपातै परेको रहेछ । चिकित्सकहरुको जवाफ सुनेपछि हिमा छाड्गाबाट खसेझैं भइन् । उनले टेकेको जमिन भासिएझैं भयो । न समाउने हाङ्गो, न टेक्ने अखेटा ! चारैतिर थेग्नै नसक्ने समस्याको पहाड । उपायविहीन, विकल्पविहीन बनेका हिमा र उनका श्रीमान् आँसु पिउँदै दुई भाइ छोराहरुको मृत्यु पर्खेर बसिरहेका छन् । सानो छोरा समीरलाई गंगालाल मुटु रोग अस्पतालमा परीक्षण गर्दा मुटुमा तीनवटा प्वाल भेटिए । साहुसँग ऋण काढेर लगातार तीन महिनासम्म उपचार गरेपछि उसको स्वास्थ्यमा केही सुधार भयो र घर फर्काइयो । समीरको औषधि चलिरहेको छ भने अझै मुटुका दुईवटा प्वालको समस्या झेलिरहेका छन् । माइलो छोरा बसन्तलाई भने लगातार २१ दिनसम्म कहिले कान्ति बाल अस्पताल र कहिले शिक्षण अस्पताल लैजाँदा पनि जिब्रोमा देखिएको समस्याको कारण र उपचार विधि पत्ता लाग्न सकेन । जन्मदै केही ठूलो आकारको देखिएको तीन बर्षीय बसन्तको जिब्रो एक बर्षयता असामान्यरुपमा बढेको छ । जसले गर्दा बसन्त बोल्ने त परै जाओस् केही खान पनि नसक्ने अवस्थामा छन् । बढेको जिब्रो ओंठको बाहिरसम्म लत्रिएका कारण बसन्त आफूले ठूलो सास्ती त पाएका छन् नै, यसले आमा हिमासहित सिङ्गो परिवारमा ठूलो चिन्ता थपिएको छ । हिमाले पहिलोपटक जुम्ल्याहा सन्तान जन्माएकी थिइन् । जम्ल्याहामध्येमाइलोको जिब्रोको ठूलो समस्या देखिएको हो । त्यसको एक बर्षभित्रै दोस्रो सन्तान जन्माइन्– समीर । उनै समीरको मुटुमा तीनवटा प्वाल फेला परे । सानो छोराको मुटुको उपचारका लागि साहुसँग काढेको डेढ लाख रुपैयाँ ऋण तिर्न बाबु गुमानसिंह सिंजाली भारतको हिमाञ्चलमा मजदूरी गर्न गएका छन् । यता आमा हिमा भने छोराको उपचार गर्न नसकिने भएपछि दुबै छोराहरुको माया मारेर आँसु पिउँदै उनीहरुको काल पर्खेर बस्न विवश छिन् । कान्ति र शिक्षण अस्पतालका डाक्टरहरुले नेपालमा उपचार गर्न नसकिने बताएपछि हिमाले हार खाइसकेकी छन् । “के गर्नु र ?गरीबको घरमै यस्तो आपत आइलाग्यो । सानो छोराको उपचार गर्न काढेको ऋण तिर्न बाबु कालापार गएका छन्”, रोग अनि गरिबीले दिएको सास्ती एकैसाथ बिसाउँदै हिमाले थपिन, “सानो छोरालाई केही सुधार भएको छ, ठूलो छोरालाई त डाक्टरहरुले पनि के भएको पत्ता लगाउन सकेनन् । बाँच्दासम्म पाल्ने मरेपछि फाल्ने त होला !” डाक्टरहरुले नेपालमा उपचार हुन नसक्ने र भारत लैजानुपर्ने बताएपछि रकम अभावमा गत बर्षको मंसिरदेखि उपचारको प्रयास गर्नै छाडेकी हिमाले कतैबाट सहयोग पाउन सके छोराको ज्यान बचाउन सकिन्थ्यो कि भन्ने आशा अझै पालेकी छन् । “मैले त अब सबै आशा मारिसकेकी थिएँ तरसहयोग जुट्नसक्छ प्रयास गर भनेपछि बैंकमा खाता खोलेर फेरि प्रयास थालेकी छु”, बिकट गाउँबाट घोराही आएर बैंक खाता खोलेकी हिमाले गहभरि आँसु र भक्कानिएर भनिन्, “धनीमानीहरुले पुण्य कमाउन ठाउँठाउँमा मन्दिर, गेट बनाएको सुनेको छु । कोही त्यस्तै धन र मन दुबै भएका दानी भेटिए मेरो छोराको उपचार गरिदिएमा त्यो अझ ठूलो पुण्य काम हुने थियो ।” स्वदेश तथा विदेशमा हिमाले देखेको सपनाजस्तै कोही धनवीर र मनवीरहरु भेटिएलान् ? नभेटिए पनि “एक थुकी सुकी, सय थुकी नदी” भनेझैं यिनको पीडामा अलिकति भए पनि मल्हम लगाउन सकिन्छ कि ? दुई छोराहरुको काल पर्खेर बस्न विवश आमाबाबुको मानसिकता कसरी बितिरहेको होला ? यो सोचेर सहयोगी हातहरु अगाडि आउनेमा हिमा आशावादी छिन् । त्यसका लागि अरुकै सहयोगमा कृषि विकास बैंकमा हिमा सिंजाली मगरको नाममा रहेको खाता नम्बर ०९१९४००७५३२४८०१८ मा रकम जम्मा गरिदिन सिंजाली परिवारले आग्रह गरेको छ । त्यस्तै हिमाको मोबाइल नम्बर ९८६६९३९७१० मा पनि सम्पर्क गरेर सहयोग गर्न सक्ने स्थानीय अगुवा लुमबहादुर कार्कीले जानकारी दिए ।

0 comments

Write Down Your Responses