स्वाइनफ्लुबाट धेरै डराउन नपर्ने तर सचेत रहन मन्त्रालयको आग्रह

काठमाडौँ, फागुन १३- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वाइनफ्लु (“इन्फ्लुइएन्जा ए” एच वन एन वन)बाट धेरै डराउन नपर्ने तर सचेत रहन आग्रह गरेको छ । जाडोको समय सकिने र गर्मीयाम सुरु हुने समयमा स्वाइनफ्लु देखापर्ने भन्दै मन्त्रालयले फ्लु नियन्त्रणका लागि आफू मातहतका निकायलाई सतर्क अवस्थामा रहन निर्देशन दिएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सेनेन्द्रराज उप्रेतीले फ्लु फैलिन नदिन सचेत रहँदै पूर्वतयारीका सबै काम भएको जानकारी दिए । “यो मौसमी रुघाखोकी हो, धेरै डराइहाल्नु पर्दैन तर सचेत रहनुपर्छ” उनले । भारतमा सो फ्लुका कारण हालसम्म आठ सयको मृत्यु भैसकेको छ भने करिब ११ हजारभन्दा बढीमा सो फ्लुले सङ्क्रमण गरिसकेको प्रमाणित भैसकेको छ । नेपालमा सो फ्लुका कारण एक जनाको पनि मृत्यु भएको छैन तर पाँच जनामा सो फ्लु भएको पुष्टि भएको छ । विभागले काठमाडौँ, पोखरा, विराटनगर, नेपालगन्ज, जनकपुरजस्ता १० सहर तथा बढी आवातजावत हुने अनि भीडभाड हुने स्थानहरुमा नमूना सङ्कलन गरी केन्द्रीय प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था मिलाएको महानिर्देशक डा उप्रेतीले जानकारी दिए । साथै नेपाल भित्रिने भारतीय नाका, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा निगरानीका लागि हेल्थ डेस्क राख्न प्रबन्ध मिलाउन लागिएको उनले उल्लेख गरे । आफू मातहतका सबै अस्पतालहरुलाई छुट्टै बिरामी राख्ने कोठा (आइसोलेसन वार्ड) को तय गर्न विभागले निर्देशन दिइसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा बाबुराम मरासिनीले स्वाइन फ्लुका लागि भनेर छुट्टै बजेट नभएको भन्दै आन्तरिक बजेटबाट काम भैराखेको बताए । उनले सामान्य रुघाखोकी र स्वाइन फ्लुको एउटै लक्षण देखिने हुन्छ, त्यसैले रुघाखोकी लाग्नासाथ परीक्षण गरिहाल्नुपर्छ भने ।

0 comments

Write Down Your Responses