स्वाइनफ्लु भित्रन नदिन नवलपरासीमा उच्च सतर्कता

परासी, फागुन १२- भारतमा स्वाइनफ्लुको महामारी फैलिएपछि भारतीय सिमानासँग जोडिएका नवलपरासीमा पनि उच्च सतर्कता अपनाइएको छ । भारतसँग सीमा जोडिएको नवलपरासीमा स्वाइनफ्लु सजिलैसँग भित्रन सक्ने सम्भावनालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाइएको हो । जसका लागि जिल्लाको सीमावर्ती क्षेत्रका सबै स्वास्थ्य सङ्घसंस्थामा स्वास्थ्यकर्मीलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिइसकेको स्वास्थ्य कार्यालयका प्रमुख जयबहादुर कार्कीले जानकारी दिए । नवलपरासीको महेशपुर, साथै त्रिवेणीलगायत विभिन्न नाकाबाट प्रतिदिन सयौँ व्यक्ति भारतीय नाका भएर जिल्ला भित्रिने गरेका छन् । जिल्लामा तत्काल रोगी नभेटिए पनि रोग भित्रिन सक्ने भएकाले जिल्लाका प्रत्येक स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा महिला स्वयम्सेविकालाई उच्च सतर्कता अपनाउन निर्देशन दिइसकेको स्वास्थ्य कार्यालयका प्रमुख कार्कीले बताए ।

0 comments

Write Down Your Responses