प्रचण्डले भने, ‘आखिर हिरोलाई जिताउने त भिलेनले नै हो’
नुवाकोट, फागुन १० – एकिकृत नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डले काँग्रेस र एमालेले संविधानसभाबाट धक्का दिँदै गाउँतिर पठाएर आफूहरुलाई नयाँ तागत मिलेको बताएका छन् । माओवादी बिग्रिएको र जनताबाट टाढिएको बेला उनीहरुले जनतामाझ पु¥याएर निर्णायक विद्रोहमार्फत् जित्ने अवसर दिएकोमा धन्यवाद दिए ।
शनिवार नुवाकोटको ओखरपौवा गाउँ पार्टीले आयोजना गरेको आन्दोलन केन्द्रित तयारी भेलामा कार्यकर्तामाझ बोल्दै प्रचण्डले परिवर्तन चाहने पार्टीहरुलाई संविधानसभाबाट बहुमतरुपि तरवारले धपाएर गल्ती गरेको तर, माओवादीलाई जनताको शरणमा पु¥याएर काँग्रेस र एमालेले राजा ज्ञानेन्द्रको जस्तै हालत निम्त्याएकोमा व्यंग्य गर्दै सहानुभूति दिए । ‘सुशीलजी र केपीजीले हामीलाई पेलेर आफ्नै विरुद्ध शक्ति बटुल्न गाउँ पठाएकोमा म धन्यवाद दिन्छु, प्रचण्डले भने, ‘भिलेनले हिरोलाई आफ्नो हिरोइज्म देखाउन पठाइदिए, सजिलो बनाइदिए ।’
नेपाली काँग्रेस र एमालेलाई भिलेन र माओवादीलाई हिरोको संज्ञा दिँदै उनले फिल्म वा सिनेमामा राम्रा हिरो हिरोइन भएर मात्र फिल्म सफल र हेर्नलायक नहुने प्रशंग जोड्दै त्यहाँ सशक्त र बलवान गुण्डा वा भिलेन भएमा मात्र रोचक हुनुका साथै हिरोको महत्व देखिने बताए ।
‘हिरोले गर्ने विरता र साहस देखाउने कामलाई भिलेनले सजिलो बनाइदिएर सहयोग गरेजस्तै अहिले परिवर्तनकारी शक्तिलाई जिताउने बाटो काँग्रेस एमालेहरुले नै बनाइदिएका छन् । हिरोको हिरोइज्म देखाउने अवसर दिएर जे जे भएपनि आखिर अन्यमा जित्ने त हिरोले नै हो भन्ने सत्यलाई प्रमाणित गरिदिँदैछन् ।’
अध्यक्ष दाहालले कांग्रेस र एमाले संविधान सभामा नसच्चिए अझै कडा आन्दोलनमा लाग्ने बताए । उनले संविधानसभाबाट बाहिरिएका १९ दलको साथ लिएर समानान्तर संविधान सभा गठन गर्ने, प्रादेशिक राज्य घोषणा गर्ने र सरकार समेत समानान्तर स्थापना गरि चलाउने चेतावनी समेत दिए ।
एकिकृत नेकपा माओवादीको नेतृत्वमा आएको परिवर्तनलाई संस्थागत गर्ने बेला बाहिरन परेकोले जनतामाझ आएको बताउदै अध्यक्ष दाहालले फागुन १६ गतेको शक्ति प्रदर्शनलाई सफल पार्न सबै कार्याकर्ताहरुलाई आग्रह गरे । उनले पार्टीले क्रियात्मक, निर्णयात्मक र शक्ति पदर्शन गरि तीन चरणमा आन्दोलन सञ्चालन गर्ने र यसमा जनताको उल्लेख्य साथ रहने पनि विश्वास दिए ।
पृथ्वीनारायाण शाहपछि इतिहासमै बलिदानीपूर्ण ठूलो विद्रोहमार्फत् संविधानसभा, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताजस्ता एजेण्डा आफुहरुले ल्याएको स्पष्ट पार्दै प्रचण्डले त्यसको स्वामित्व आफूहरुबाट खोसेर यथास्थितिवादीहरुले अपहरण गर्न लागिपरेकोमा दुःख लागेको बताए ।
‘किसानले बाँझो जमिन खनेर उब्जाएको अन्न भित्र्याउन नपाउँदै अरु कसैले खोस्दा जे हुन्छ, ठीक त्यही स्थिती हाम्रो छ, उनले भने, ‘हामीले संविधान, गणतन्त्रजस्ता परिवर्तनको लागी यत्रो बलिदान ग¥यौ अनि हामीलाई बन्धक राखेर तिनै परिवर्तनका विरोधीहरुले खोस्दा अब बिद्रोह नभए के हुन्छ त ?’
‘काम गर्ने कालु, मकै खाने भालु’ को उखान जोड्दै प्रचण्डले भने, ‘श्रमिक र गरिब जनताले परिश्रम गरेर ल्याएको त्यो फल खाने बेला खोसिएको छ ।’ बहुमतको तरवार उज्याएर शान्तिप्रकृयाको मुख्य हिस्सा माओवादीलाई अलग्याएर संसारका कुनैले पनि अहिलेको लोकतान्तिक मुलुक कल्पना गर्न नसक्नेतर्फ सचेत हुन आग्रह गदै प्रचण्डले भने, ‘शान्ति प्रकृयाका सहयात्रीहरुबीच संसारमा कहीँपनि बहुमत र अल्पमत हुँदैन ।’
काँग्रेस र एमालेसँग बहुमत छ भन्ने त थाहा भएको तर, बृहत शान्ति सम्झौता, १२ बुँदे समझदारी र अन्तरिम संविधानको भावनाअनुसार फेरी ४ बुँदे सहमति गरेर जनताका सबै अधिकार सुनिश्चित गर्छौँ भनेपछि मात्रै दोस्रो संविधान सभाबाट यहाँसम्म आफूहरु आइपुगेको प्रचण्डले प्रष्ट पारे । ‘तर, अहिले सहमतिलाई भाँडेर बहुमतको तरवार दापबाट झिकेपछि त्यसबाट बच्न माघ ५ गते राती भएको बिद्रोह हो । बहुमतको भोटेताल्चा लगाएर छिर्ने ठाउँ नै छैन, कसरी हुन्छ वार्ता र बन्छ संविधान ?’ अब जनताको पक्षमा संविधान बन्ने ग्यारेण्टी नभएसम्म वार्तामा नजाने बरु विद्रोहबाटै सत्ताधारी दलहरुलाई गलाउने उनको दाबी छ ।
अहिले मुख्य विवादित मुद्दा बनेको पहिचानसहितको संघियताको विषयमा बोल्दै एमाओवादी अध्यक्ष प्रचण्डले आफूहरुले जातिय राज्य नमागेको बरु अढाईसय वर्षदेखि कायम रहेको एकल जातिय राज्य, भाषा र धर्मले लादिएका जनतालाई समान हक र अवसर दिन खोजेको स्पष्ट पारे । ‘हिजो एकै जाती एउटै भेष, एकै राजा एकै देश भन्ने यिनै होइनन् ?, प्रचण्डले जातिवादी काँग्रेस एमाले नै भएको ठोकुवा गर्दै भने, ‘आजसम्म एकै जातिले शासन चलाएर बहुसंख्यक जनतामाथी दमन गरियो, अनि ति पिल्सिएका जनतालाई अधिकार देउ भन्दा हामी कसरी जातिवादी भयौँ ?’
हत्याको षड्यन्त्र भइरहेको छ
जनता र परिवर्तनका लागि बोल्दा मदन भण्डारीजस्ता नेताहरु मारिएको घटना स्मरण गर्दै आफुलाई पनि हत्या गर्ने तानाबाना बुनिएको कुरा बाहिर आएको प्रचण्डले खुलासा गरे । ‘यो हुँदासम्म गरिबको पक्षमा जनतालाई नि भनिराख्नेभयो, अब यसलाई भौतिक रुपमा कसरी सिध्याउने भनेर एकथरी विरोधीहरु लगिपरेका छन्, हत्या हुनसक्नेबारे उनले भने, ‘माओवादी सिध्धियो भनेको त, फेरी ३० दललाई बोकेर देश नै हल्लाउने भयो । त्यसैले प्रचण्डलाई नसिध्याई हुन्न भनेर षड्यन्त्र भैरहेको छ ।’
राजासँग राजतन्त्र फर्काउने सहमति ?
पूर्वराजा ज्ञानेन्द्रसँग नेपाली काँग्रेस र नेकपा एमालेले त्यतिबेला कुनै न कुनै सम्झौता भएको हुनसक्ने आशंका प्रचण्डले गरेका छन् । दुई दल मिलेर मुलुकमा फेरि राजतन्त्र फर्काउन खोजेको हुन सक्ने दावी गरेका हुन् ।
‘आठ वर्षपछि आएर के हो त्यस्तो सम्झौता ?, उनको प्रश्न थियो, ‘वेवी किङ बनाएर पुजा गरेर राख्ने ! कतै त्यही सम्झौता भएको थियो भन्न खोज्या हो की ?’
फेरी पनि देशमा षड्यन्त्र हुनसक्ने संकेत देखापरेको बताउँदै प्रचण्डले भने, ‘हिजो हामी त्यतिबेला छँदा पनि थिएनाँै, नत सिँहदरबारमा न थियौँ, राजासँग हामीले कुरा गरेर शान्तिप्रकृयामा आएको पनि होइन, त्यतिबेला सम्झौता राजासँग गरेको हुनसक्नेतर्फ जोड दिँदै उनले भने, ‘नेपाली जनतालाई धोका दिएर तिमिहरुले त्यस्तो के सम्झौता गरेका थियौ ? र ज्ञानेन्द्र अहिले आएर सहमतिको हिस्सा खोज्दैछन् ?’ नत्र भने बलिदानले ल्याएको यति ठूलो युगान्तकारी परिवर्तन, गणतन्त्र, संविधानसभा, धर्मनिरपेक्षता, पहिचान र समावेशी, समानुपातिक प्रणालीजस्ता उपलब्धीलाई काँग्रेस र एमालेले कुल्चेको देख्दा कतै त्यो सम्झौता हुनसक्ने उनको अनुमान छ । प्रचण्डले भने, ‘अब यसको सत्य जवाफ उनीहरुले नेपाली जनतालाई दिनुपर्छ ।’
‘परिवर्तनमा ज्ञानेन्द्रको पनि योगदान छ’
नेपालमा माओवादी र प्रचण्ड भएर मात्र होइन, ज्ञानेन्द्र भएर पनि परिवर्तन आएको प्रचण्डले बताएका छन् । ‘मैले शान्ति सम्झौतापछि भन्ने गर्थेँ–ज्ञानेन्द्रलाई विषेश धन्यवाद दिनुपर्छ । ज्ञानेन्द्रमा त्यो वुद्धि नआइदिएको थियो भने, दरबार हत्याकाण्ड नभइदिएको नभइदिएको भए र उनले पुराना पञ्चहरुलाई यो राज्य मेरै हातबाट चलाउ नभनेको भए परिवर्तन सम्भव थिएन, प्रचण्डले यस्तो विष्लेशण गर्दै भने, ‘काँग्रेस र एमालेलाई लात्तिले हानेर माओवादीसामु नपु¥याइदिएको भए यति छिटो गणतन्त्र आउने थिएन । यो अर्थमा म ज्ञानेन्द्रलाई धन्यवाद दिन्छु ।’
साँपलाई दुध पिलाएर भुल गरिएछ
माओवादीले काँग्रेस र एमालेलाई मायाँ गर्दा आफूहरु संकटमा परेको प्रचण्डको चर्चा थियो । ‘जाडोले कठ्याङ्ग्रिएको साँपलाई माया गरेर किसानले दूध पिलायो भने दूध खाइसकेपछि त आफैँलाई ठुँग्ने हो, हामीले साँपलाई दूध पिलाउने गल्ती गरिएछ ।’ हिजो साँपको टाउको (राजा) मा थिचेकै हौँ भन्दै उनले भने, ‘त्यतिले पनि भएनछ, पुच्छर त हल्लाईरह््यो अब पुच्छरमा हान्छौँ ।’ प्रचण्डले काँग्रेस र एमालेलाई पुच्छरको संज्ञा दिए ।
‘जनतालाई छोडेर फटाहाको संगतले बिग्रियौँ’
जनतालाई छोडेर विरोधीहरुसँगको उठबस र संगतले माओवादी बिग्रीएको स्विकार गर्दै अध्यक्ष प्रचण्डले त्यसको लागि जनतासँग माफी माग्दै सच्चिने एक मौका दिन आग्रह गरे । माओवादी जनताको छोराछोरी भएकोले आमाबाबुले सजायँ दिएर खबरदारी गरेकोमा स्वागतयोग्य भएको प्रष्ट पारे । ‘पार्टी बिग्रेकोमा हाम्रो गल्ती भयो, तपाईँहरुलाई छोड्दै गयौँ र बस्ने खाने गर्न छोड्यौँ, प्रचण्डले आत्माआलोचना गरे, ‘तिनै फटाहाहरु जसले हाम्रो टाउको काट्न खोजेका थिए, तिनैसँगको संगतले बिग्रियौँ ।’ आफूहरु छोराछोरी बनेर जनताकै सेवा गर्न युद्ध गरेको स्मरण गर्दै भने, ‘सन्तान बिग्रेकोमा आमाबाबुले झापड त राम्रैसँग दिनुभयो, तर मायाँ त पक्कै गरिराख्नुभाछ । बिग्रिएका भएपनि छोराछोरी त तपाइकै हौँ ।’
- See more at: http://www.ratopati.com/2015/02/22/210819.html#sthash.og30GSnO.dpuf
0 comments
Write Down Your Responses