आन्दोलनमा आएका कार्यकर्ता भन्छन्, ‘अधिकार लिन राजधानी आएका हौं

काठमाडौं, फागुन १६–३० दलिय मोर्चाको शनिबार सभा अन्य सभाहरु भन्दा भिन्दै थियो । डिजिटल होर्डिङबोर्ड आकर्षकको एउटा कारण थियो भने सभामा देशभरका विभिन्न समुदायका मानिसहरु उपस्थित थिए । मधेसी, जनजाती आ–आफ्नो संस्कृतिमा उपस्थित थिए । अधिकारको माग गर्दै मधेसले पटक–पटक आन्दोलन गरिसकेको छ ।

३० दलिय मोर्चाको कार्यक्रममा पनि मधेसबाट उल्लेख्य सहभागिता रहेको थियो । ‘हामी मधेसको अधिकारको माग गर्दै आन्दोलनमा आएका हौं,’ पर्सा देखि आएका सुरज यादवले भने ‘मधेसमा यतिबेला विद्रोहको माहोल बनेको छ ।’
मधेसी जनअधिकार फोरम नेपालको युवा संगठनका पर्सा अध्यक्ष समेत बताउने यादवले आफूहरुले पर्साबाट मात्रै ११ सय जना मधेसी जनता राजधानी आएको बताए ।
‘मधेसी जनताले चाहेको स्वतन्त्रता अहिलेको संविधान सभाबाट प्राप्त गर्नको लागि जस्तो सुकै संघर्ष पनि गर्न तयार छन् ।’ उनले मधेसी जनताको भावनाबारे मुख खोले ‘दबाब नै अहिलेको आवश्यकता हो मधेसी जनता जनअधिकार प्राप्तीको लागि हिजो पनि आन्दोलनमा थिए अहिले पनि छन् खुल्ला मञ्चमा यतिबेला अधिकार माग गर्न आएका हौं । यदि दिएन भने मधेसी जनताले फरक रुप को निर्णय गर्न सक्छ ।’
७४ वर्षिय ज्ञान चन्द्र शाहनी बारादेखि आएका रहेछन् । ‘म भाषण सुन्न आएको होइन ।’ उनले भने ‘अधिकार लिनको लािग आएको हो । मधेसीलाई अधिकार चाहियो ।’ साहनी आफूहरु आन्दोलनमा स्वतस्फूर्त लागेको बताउँछन् । ‘हामी बारा देखि गाडिभाडा पनि आफै तिरेर आएको हो,खानाको पैसा आफै तिरेका छौं ।’
जनकपुर पुल्चोकदेखि खुल्लामंच आएकी जरिना खातुन काँग्रेस एमालेले मधेसलाई अपमान गरेकाले आन्दोलनमा बाध्य भएर आएको बताउँछीन् । ‘हामीलाई अपमान गरियो मधेसलाई विदेसी नागरिक सरह व्याबहार गरियो ।’ उनी भन्छिन् ‘अब आन्दोलन गरेर देखाउने बेला आयो मधेस के हो भनेर ।’
खातुन एमाले अध्यक्ष ओली प्रधानमन्त्री बने मधेसलाई टुक्रा पारेर सिद्धाउने आरोप लगाउछीन् ‘एमाले अध्यक्ष ओली मधेसको बाधक हुन् । उनी संविधान बनेको देख्न चहादैनन् । तर मधेसी जनताले हिसाब किताब गर्नेछ ।’ उनले भनिन् ।
सर्लाहि मंजलवा किसनपुर देखि आएका बच्चु महतो स्वायत्त मधेसको लागि आन्दोलन अनिवार्य भएको बताउछन् । ‘यो संविधान सभाबाट मधेसी जनताको अधिकार खोसीन लागेको छ ।’ आफूले बोकेको झण्डा देखाउदै यनले भने ‘हाम्रो आन्दोलनबाट बनेको संविधानसभालाई कसैले अपहरण गरेको हामी सहन सक्दैनौं ।’
सर्लाहिबाटै आन्दोलनका लागि राजधानी आएका विन्देश्वर पासवान अधिकार लिएरै छाड्ने बताउछन् । ‘उमेरले ६५ वर्ष भएँ मेरो विचार पुरानो भएको छैन । हाम्रो देशमा परिवर्तन आवश्यक छ ।’ उनले भने ‘संविधान जनताको लागि हुनुपर्छ । कुनै व्यक्तिले संविधान बनाउने होइन जनताले बनाउने हो ।’
सर्लाहिका अकुल शाहनी मधेसीको पहिचान माग्न राजधानी आएको बताउछन् । ‘सबैको पहिचानलाई समेटेर संविधान बनाउनु पर्छ ।’ शाहनी भन्छन् ‘एक्लैले संविधान बनाउने भए त राजाहरुकै संविधान ठिक थियो । सबैको अधिकारको लागि नै संविधानसभा चाहिएको हो ।’

0 comments

Write Down Your Responses