सावधान ! आयुर्वेदिक औषधिमा मिसाइएको खतरनाक लिडबाट

आयुर्वेद कम्पनीहरुले आफूले उत्पादन गर्ने र वितरण गर्ने आयुर्वेदिक औषधिमा अत्यावश्यकीय तत्वका रुपमा सिसा (लिड) हाल्ने गर्छन् । लिड यस्तो विषालु पदार्थ हो, जसले शरीरमा गम्भीर असर गर्छ र बढी डोज भएमा प्राणघातक पनि हुन्छ ।
लिड विषालु धातुको रुपमा शताब्दिऔंदेखि चिनिँदैं आएको वस्तु हो । यो सजिलै पाउडरको रुपमा परिवर्तन गर्न सकिने नरम धातु पनि हो । आयुर्वेदका औषधिका थुप्रै मिश्रणमा लिड रहेको पाइएको छ । आयुर्वेदिक औषधिका दुई वृहत प्रकार हुन्छन् । एउटा जडिबुटीमा आधारित हुन्छन् भने अर्को धातु र खनिज पदार्थ । जडिबुटीमा धातु र खनिज पदार्थ (भष्म)लाई मिसिदा रसशास्त्रको रुपमा चिनियो । धातुमा सुन, सिसा र चाँदी प्रमुख रुपमा पर्छन् ।
लिडजस्ता धातुलाई धेरै मात्रामा मिसाउँदा मानव शरीरलाई फाइदा पुग्छ भन्ने गलत सोचाई आयुर्वेदिक औषधिका उत्पादकहरुको छ । तर, सत्य के हो भने लिडको सम्पर्कमा आउँदा असर नगर्ने त्यस्तो कुनै पनि शरीरका अंग या प्रणाली छैनन् । विशेष रुपमा यसले दिमागको वृद्धि, स्नायु, मिर्गौला, फोक्सो तथा प्रजनन प्रणालीमा क्षति पु¥याउँछन् । गर्भवती महिला सिसाको सम्पर्कमा आइन् भने त गर्भमा हुर्किरहेको शिशुको अंग विकासमा नकारात्मक असर पर्छ र समय नपुग्दै बच्चाको जन्म हुने खतरा रहन्छ ।
केही वर्षअघि न्युयोर्कको पब्लिक हेल्थ एजेन्सीले रगतमा लिडको मात्रा उच्च भएका गर्भवती महिलाका ६ केस फेला पारेको थियो । ती सबै जना दक्षिण एशियाबाट आएकाहरु थिए । उनीहरुले आफनो छालाका लागि, गर्भका लागि र हुर्किरहेको शिशुका लागि भन्दै आयुर्वेदिक औषधि लिइरहेका थिए । एजेन्सीले आफ्नो अनुसन्धानका क्रममा थुप्रै आयुर्वेदिक औषधिमा लिड रहेको फेला पारेको थियो । तिनीहरुमा, स्वर्णयुक्त, गर्भधारक योगजाम्बु्रलिन, कन्कायनबटि, लक्ष्मीविलास रस, लक्ष्मणलुहा, गर्भपलरस, महासुदर्शन, महाशक्तिरसायन, महायोगराजगुग्गलु (चाँदीसहित), प्रेग्निता, सोरिन, पिग्मेन्टो, बसन्तकुसुमाररस, बत्भीध्वानसनरस रहेका थिए । यी औषधि वैद्यनाथ, ब्यास र डाबरलगायतबाट उत्पादन भएका थिए ।
रगतमार्फत् लिड कति छ भनेर पाइन्छ । रगतमा हुने लिडको कुनै पनि परिमाण सुरक्षित छैन ।यसले बच्चाको दिमागको वृद्धिलाई क्षति पु¥याउँछ । लामोसमयसम्म लिडको सम्पर्कमा आउदा मानसिक रुपमा असर पु¥याउँछ ।
रगतमा लिडको मात्रा १० माइक्रोग्राम प्रति डेसिलिटर भएमा बालबालिकाको मानसिक वृद्धि सुस्त पार्छ, आइक्यु क्षमता घटाउँछ, सुन्ने क्षमतामा असर पार्छ । यस्तै, १० देखि २० माइक्रोग्राम प्रति डेसिलिटर भएमा स्नायु प्रणालीमा गम्भीर असर पर्छ र भिटामिन डिको उत्पादनलाई असर पार्छ । २१ देखि ५० सम्म भयो भने रक्तकोषको उत्पादन घटाउँछ, हेमोग्लोबिन सेन्थेसिसलाई घटाउँछ । ५० भन्दा माथि भयो भने गम्भीर खालको पेट दुखाई, मिर्गौला फेल हुने तथा दिमागको कोषमा क्षति पुग्ने हुन्छ । १ सय भन्दा माथि भयो भने मृत्युसम्म हुनसक्छ ।
बालबालिका र वयस्कमा ब्लडलेभल ४० वा सोभन्दा बढी माइक्रोग्राम प्रति डेसिलिटर देखियो भने मेडिकल इमर्जेन्सीको अवस्था हुन्छ र उनीहरुलाई तत्काल लिड निकाल्ने थेरापी सुरु गरिहाल्नुपर्छ ।
यद्यपि सबै खालका आयुर्वेदिक उत्पादनमा लिड हुँदैंन पनि । लाखौ मानिसले आयुर्वेदिक उत्पादनहरु उपभोग गर्छन् ।
लिडले बालबालिकाको दिमागको वृद्धिमा क्षति पु¥याउँछ र लामो समयसम्म लिडको सम्पर्कमा रहिरह्यो भने मानसिक रुपमा अपांग नै बनाउँन सक्छ । उच्च डोज प्राणघातक नै हुन सक्छ । यद्यपि पेन्ट, कस्मेटिक साधन तथा क्यान्डीका उत्पादक अथवा ग्यासोलिन प्रक्रियामा लिड तिनीहरुको फाइनल उत्पादनमा लिड असल तत्व पनि हो ।
पेन्टमा लिड मिसाउँदा त्यसले चमक दिलाउँछ । त्यसैले पेन्ट उत्पादकहरुले यसलाई सजिलै परित्याग गर्न सक्दैनन्, तर, यो कत्तिको विषालु भन्नेचाहिँ हुन्छ । त्यस्तै, सौन्दर्यसाधनहरु जस्तै, लिपिस्टिक र मस्कारा (गाजल) मा मिसावट भएको लिडले यिनीहरुलाई आकर्षक बनाउँछन् । पेट्रोलियममा मिसाइएको लिडले उच्च क्षमतामा काम गर्छ ।
आयुर्वेदक उत्पादकहरुले के विश्वास गर्छन् भने लिड मिसाउँनाले औषधिलाई समृद्ध पार्छ । तर, यसविपरित लिड मिसाउनु विष मिसाउनुजस्तै हुन्छ ।
बालबालिकाहरु सबैभन्दा बढी सम्पर्कमा आउने भनेको घरभित्र लगाउने पेन्टमार्फत् हो । त्यसैले अधिकांश देशमा घरभित्र लगाउँने पेन्टमाथि प्रतिबन्ध लगाइएको छ । २० औं शताब्दिको सुरुदेखि नै अष्ट्रेलियालगायत थुप्रै पश्चिमी युरोपेली मुलुकमा लिडयुक्त पेन्टमाथि प्रतिबन्ध लगाइएको थियो । अमेरिकामा भने सन् १९७८ पछि मात्र प्रतिबन्ध लगाइएको हो । त्यसअघि बनेका घरमा बस्ने बालबालिका भने लिडको खतरामा छन् ।
अमेरिकाको सिडिसीको लिड प्वाइजनिङ ब्रान्चकी प्रमुख डा. मारी जाँ ब्राउनले एक लेखमा भनेकी छन्, ‘लिड मिसाइएको पेन्टभन्दा लिड मिसाइएको घरेलु उपचार र औषधिको उपभोग बढी खतरनाक हुन्छ ।’ त्यसैले आयुर्वेदिक औषधिमा लिडको मिसावटबारे अनुसन्धान र विश्लेषण गर्न सरकारले अनुसन्धान टिम स्थापना गर्नुपर्छ । अर्कोतिर, लिड भएका र नभएका उत्पादनबारे जनतलाई सचेत गराउनुपर्छ ।

डा. सन्जिव सापकोटा
(डा. सापकोटा मेडिकल इमिडिमियोलोजिष्ट हुन्, उनले विश्व स्वास्थ्य संगठन र अमेरिकाको फेडेरल पब्लिक हेल्थ एजेन्सीअन्तर्गत रहेर काम गरिसकेका छन् ।)

0 comments

Write Down Your Responses