राहतमा भन्सार छुट हट्ने

काठमाडौ, जेष्ठ १८ - सरकारले महाभूकम्पपछि राहत सामग्रीमा दिँदै आएको भन्सार र भ्याट छुट शुक्रबारदेखि हटाउने भएको छ। राहतमा कर छुटको दुरुपयोग गर्दै अन्य सामग्रीसमेत भित्रिन थालेपछि यसमा कडाइ गर्न लागिएको हो।

‘सरकारले अब आउने राहत थप व्यवस्थित गर्न लागेको छ,’ भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले भने,‘सरकारले नै सिफारिस गरेर सम्बद्ध निकायबाट वितरण गर्नेबाहेक अन्यमा शुल्क लाग्ने गरी कार्यविधि तय हुँदैछ।’गैरसरकारी क्षेत्रले राहत ल्याउँदा बढी बदमासी भएको सरकारी अधिकारीहरूको भनाइ छ। गैरसरकारी संस्थाहरूले राहतका नाममा गाडीमा समेत छुट गराउन चाहेको एक अधिकारीले बताए। त्यसका लागि एक अवैतनिकदूत राजनीतिक नेतृत्वसम्मै लबिङ गर्न पुगेको पनि उनले जनाए।

परराष्ट्र मन्त्रालयले राहतका नाममा ल्याउन लागेको मोटर र अन्य सामान रोकेको थियो। परराष्ट्र मन्त्रालयले यस्ता कार्य रोक्न सरकारको ध्यानाकर्षण गराएको थियो। भन्सारलगायत प्रावधानमा समन्वय गर्न परराष्ट्रले दुई सहसचिवलाई अन्तर्राष्ट्रिय विमानस्थलमा खटाएको थियो।

सरकारले राहतको सूची प्रकाशन गरीतोकिएको बाहेकका सामान ल्याउन नपाइने व्यवस्था गरे पनि त्यसमा छली हुन थालेपछि छुटको व्यवस्था हटाएको हो।

0 comments

Write Down Your Responses