गर्मीले जनजीवन प्रभावित

मोरङ, जेष्ठ १८ - केही दिनयता मोरङलगायत पूर्वका जिल्लामा तापक्रम बढेसँगै जनजीवन प्रभावित भएको छ। बजार क्षेत्रमा सर्वसाधारणको उपस्थिति पनि पातलिएको छ।

पूर्वाञ्चल क्षेत्रीय हावापानी कार्यालय धरानका मौसम विज्ञान सहायक सुदर्शन हुमागाईंका अनुसार तराईका जिल्लामा मात्र नभई पहाडी जिल्लामा समेत गर्मी बढ्न थालेको छ। आइतबार पूर्वमा यसपटकको सबैभन्दा बढी गर्मी धरानमा मापन गरिएको छ। हुमागाईंका अनुसार आइतबार दिउँसो धरानको तापक्रम ३२ दशमलव ५ डिग्री सेल्सियससम्म पुगेको थियो। धरानमा अप्रिल १६ का दिन यस वर्षको सबभन्दा बढी ३६ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो। पूर्वको मुख्य सहर विराटनगरमा आइतबार दिउँसो ३१ दशमलव ६ डिग्री तापक्रम मापन गरिएको हुमागाईंले जनाए।

विराटनगरमा पनि अप्रिल १६ कै दिन यस वर्षको सबभन्दा बढी गर्मी मापन गरिएको थियो। उक्त दिन विराटनगरको तापक्रम ३६ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो। पहाडी जिल्ला धनकुटा र ताप्लेजुङमा पनि गर्मी बढेको छ। आइतबार धनकुटाको तापक्रम २८ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ। त्यहाँ ७ मेका दिन ३० दशमलव ६ डिग्री तापक्रम मापन गरिएको थियो।

यस्तै ताप्लेजुङमा आइतबार २५ दशमलव ८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ। सप्तरी, सिरहा र उदयपुरलगायतका जिल्लामा पनि पछिल्लो केही दिनयता गर्मी बढेको छ। गर्मी अत्यधिक बढेपछि मजदुरहरू मर्कामा परेका छन् भने रिक्सा चलाएर दैनिक जीवनयापन गर्नेलाई पनि समस्या भएको छ। गर्मीका बेला यात्रु नपाउने समस्या एकातिर छ भने यात्रु पाए पनि गन्तव्यसम्म पुर्‍याउँदा असिनपसिन हुने गरेको विराटनगरका रिक्साचालक देवीलाल ऋषिदेवले बताए।

बिरामी बढे

गर्मी बढेसँगै विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा बिरामीको चाप पनि बढ्दै गएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोशन पोखरेलका अनुसार केही दिनयता भाइरल ज्वरोका बिरामीको चाप बढेको छ। यस्तै छालासम्बन्धी समस्या लिएर अस्पताल आउने पनि बढेको डा. पोखरेलले जानकारी दिए। वैशाखको अनुपातमा जेठको सुरुदेखि हालसम्म ३० प्रतिशत बढी बिरामी उपचारका लागि अञ्चल अस्पताल आएको उनले बताए।

अञ्चल अस्पतालमा मात्र होइन, मोरङका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा पनि केही दिनयता बिरामीको चाप बढेको छ। ‘ग्रामीण क्षेत्रमा पनि ज्वरो र छालासम्बन्धी समस्यावाट पीडित भई आउनेको संख्या उच्च छ,’ जिल्ला जनस्वास्थ्य प्रमुख भानु याङ्देनले भने।

विराटनगरका विभिन्न निजी अस्पतालमा पनि विगतभन्दा अहिले बिरामीको चाप बढेको छ। उनीहरूमा आधाभन्दा बढी मौसम परिवर्तनकै कारणबाट पीडित भएकाहरू रहेको अस्पतालहरूले बताएका छन्। गर्मीका कारण आँखा पाक्ने समस्या पनि देखिन थालेको छ।

गर्मीले सर्वसाधारणलाई सास्ती

चितवन– गर्मीका कारण मध्य तराईका जिल्लाको जनजीवन कष्टकर बनेको छ। दिउँसो चल्ने तातो हावाले चितवनका बस्ती र बजारमा चहलपहल शून्य छ। दिनभर पोल्ने घाम लाग्ने र साँझमा हावाहुरीसँगै पानी पर्ने गरेका कारण बालबालिकादेखि वृद्धसम्म प्रभावित छन्। यसले विभिन्न किसिमका स्वास्थ्य समस्या उत्पन्न गरेको छ।

सडकछेउका चौतारा तथा मठ मन्दिरका छहारीमा बस्नेको भीड देखिन्छ। ज्याला मजदुरी गरेर गुजारा गर्ने बढी समस्यामा परेका छन्। घामले मकैबाली सुकेको छ। जिल्ला अस्पतालमा बिरामीको भीड लाग्न थालेको छ। सरदर दैनिक १ सय ३० सम्म बिरामी आउने भरतपुर अस्पतालमा अहिले संख्या ह्वात्तै बढेको छ। अहिले दैनिक २ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको चिकित्सक भोजराज अधिकारीले बताए।

‘गर्मीले गर्दा बिरामीको संख्या बढेको छ,’ डा. अधिकारीले भने। उनका अनुसार लू को समस्या नभए पनि उपचार गर्न आउने बिरामीमा टाउको दुख्ने, शरीर गल्ने, आलस्य हुने, झाडापखाला लाग्ने र रुघाखोकीको लक्षण देखापर्ने गरेको छ। अस्पतालका बेड बिरामीले भरिएका छन्। मौसम परिवर्तनले गर्दा हुने रोगबाट ख्याल गर्नुपर्ने र पानी उमालेर खानुपर्ने अधिकारीले बताए। ‘भूकम्पको डरले अझै सर्वसाधारण घरबाहिर बसिरहेका छन्,’ उनले भने, ‘बाहिर बसे पनि पानी पर्ने गरेकाले मलेरिया र डेंगुको बिरामी बढ्न सक्ने खतरा छ।’ चितवनस्थित भरतपुर विमानस्थलका अनुसार आइतबार जिल्लाको तापक्रम ३४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ। ट्राफिक प्रहरीका अनुसार गर्मीले गर्दा सवारी चापमा समेत कमी आएको छ। त्यस्तै ट्राफिक प्रहरीलाइ ड्युटी गर्न गाह्रो भएको छ। ‘गर्मीले प्रहरीलाई ड्युटी गर्न समस्या भएको छ,’ जिल्ला ट्राफिक प्रहरी प्रमुख रमेशराज भेटवालले भने, ‘ड्युटीमा खटिनेलाई पानी धेरै खान सल्लाह दिँदैं हिँड्ने गरेको छु।’

४१ डिग्रीसम्म

गर्मीका कारण भैरहवा र ग्रामीण क्षेत्रको जनजीवन प्रभावित बनेको छ। बजारमा मानिसको चहलपहल कम छ। आइतबारदेखि सञ्चालनमा आएका विभिन्न विद्यालयमा अध्ययनरत साना विद्यार्थी मारमा परेका छन्। सरकारी कार्यालयमा अन्य दिनको तुलनामा सेवाग्राहीको चाप कम देखिन्छ। भैरहवा क्षेत्रमा १ सातादेखि अत्यधिक मात्रामा घाम चर्कने र गर्मी बढ्न थालेको हो। घामले कालोपत्रे पग्लिन थालेको छ। १ सातादेखि वर्षा भएको छैन। गौतम बुद्ध विमानस्थलका अनुसार भैरहवाको मौसम ४० डिग्रीको हाराहारीमा पुगेको छ। ३ दिनअघि ४१ डिग्री नाघेको थियो।

यसले विभिन्न रोगको प्रकोप पनि बढ्न थालेको छ। भीम अस्पताल भैरहवाको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी शशिकान्त उपाध्यायले अस्पतालमा रिंगटा लाग्ने, झाडापखाला, बेहोस हुने, फुड प्वाइजन र सर्पले टोकेका बिरामीको संख्या बढ्न थालेको बताए। ‘यस्ता बिरामीले अस्पताल भरिएको छ,’ उनले भने। युनिभर्सल शिक्षण अस्पताल भैरहवाका आकस्मिक कक्ष प्रमुख डा. मनोहर जोशीले गर्मीका कारण शरीरको पानी सुक्न थालेपछि उच्च ज्वरो आउने, कमजोरी हुने, बेहोस हुनेजस्ता समस्या आउने र कतिपयको मृत्यु हुनसक्ने बताए।

जनजीवन कष्टकर

पर्सामा पनि अन्य दिनको तुलनामा आइतबार झन् बढी गर्मी महसुस गरिएको छ। एक सातायता जिल्लाको तापक्रम ४० डिग्री सेल्सियस हाराहारीमा छ। तापक्रम अत्यधिक बढेका कारण दिउँसोको समयमा यस क्षेत्रमा तातो हावा ‘लू’ समेत चल्न थालेकाले सर्वसाधारणलाई सास्तीसमेत हुन थालेको छ। बिहानैदेखि चर्को घाम लाग्ने र पानी नपरेका कारण गर्मी भएको हो। अत्यावश्यक कामले बाहेक सडकमा हिँडडुल गर्न छाडेका छन्। चर्को गर्मीका कारण दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई बढी समस्या भएको छ। रौतहटमा पनि जनजीवन कष्टकर बनेको छ। जिल्लाका अस्पतालमा टाइफाइड र झाडापखालाको बिरामी बढेका छन्। गर्मी बढेपछि जिल्लाभरिका विद्यालयमा बिहानको पढाइ सञ्चालन गरेका छन्। दैनिक ३/४ जना झाडापखाला र टाइफाइडका बिरामीह अस्पतालमा उपचारका लागि आउने गरेको गौर अस्पतालका चिकित्सक सुवास चौधरीले जनाए।

कार्यालय सुनसान

गर्मीले नवलपरासीका सरकारी कार्यालय सुनसान बनेका छन्। बजारमा चहलपहल कम छ । वन कार्यालयका नायब सुब्बा अमजद अन्सारीले सेवाग्राही कम आउने गरेको बताए। ‘आउनेमध्ये पनि बिहानैको समयमा आउने गरेका छन्,’ उनले भने, ‘दिउँसो कर्मचारीसमेत गर्मीले उकुसमुकुस हुने गरेका छन्।’ अहिले बजारमा पनि बिहान र साँझ मात्र ग्राहक आउने गरेको परासीस्थित डटकम हाउसका प्रोपराइटर श्रीधर बस्यालले बताए। पसलमा तापक्रम नाप्ने यन्त्रले दिउँसोमा ४२ डिग्रीसम्म तापक्रम देखाउँदै आएको उनले जनाए।



पश्चिम नेपालमा पनि गर्मी बढेकाे छ । याे पढ्नुहाेस् : नेपालगन्जमा लोडसेडिङ

0 comments

Write Down Your Responses