सहमतिको सरकारका विषयमा कांग्रेस-एमालेबीच विवाद

काठमाडौं, जेष्ठ १८ - राष्ट्रिय सहमतिको सरकार संविधान जारी भएपछि या त्यसअघि नै बनाउने भन्ने विषयमा मुख्य सत्तारुढ दल कांग्रेस र एमालेबीच विवाद भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार विहान बसेको बैठकमा राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा कांग्रेसले दुइटा विकल्प अघि सारेको छ । जसमा, पहिलो विकल्प बर्तमान प्रधानमन्त्री सुशील कोइरालाकै नेतृत्वमा सवै राजनीतिक दललाई सामेल गराई तत्काल राष्ट्रिय सरकारको स्वरुप दिने । यो विकल्पमा जाँदा नयाँ संविधानमा सबैको अपनत्व हुने र संविधानका अन्तर्वस्तुमा समझदारी जुटाउन पनि सहज हुने कांग्रेसको तर्क छ ।

यसमा सहमति नबने कोइराला नेतृत्वको विकल्पमा निर्माण हुने राष्ट्रिय सहमतिको सरकार संविधान जारी भएपछिमात्रै हुने सक्ने कांग्रेसको प्रस्ताव छ । त्यसका लागि प्रधानमन्त्री सुशील कोइरालाले असार मसान्तभित्र 'फास्ट ट्रयाक'बाट संविधान जारी गर्ने र लगतै आफूले राजीनामा दिने धारणा बैठकमा राखेको स्रोतले बतायो ।

सरकारकै मुख्य साझेदार एमालेले भने राष्ट्रका सामुन्ने आइपरेको विपतिको सामना गर्दै पुर्नस्थापना र पुर्ननिर्माणको कार्यलाई राष्ट्रिय अभियानका रुपमा अघि बढाउन तत्काल राष्ट्रिय सहमतिको नयाँ सरकार बन्नुपर्ने अडान राखेको छ । एमाले कोइराला सरकारलाई राष्ट्रिय स्वरुप दिन तयार नभएपछि दुई दलबीच विवाद उत्पन्न भएको हो ।

कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले पनि संविधानको अन्तर्वस्तुमा सहमति नखोजी सरकारको बिषयमा मात्रै सहमति हुन नसक्ने बताए । 'संविधानको अन्तर्वस्तुमा सहमति गरौ र असार मसान्तभित्रै संविधान जारी गरौ' खड्काले भने, 'त्यसपछि राष्ट्रिय सहमतिको सरकार बनाएर राष्ट्रिय पुर्ननिर्माण, पुर्नस्थापना र स्थानीय निकायको निर्वाचन गरौ भन्ने हाम्रो प्रस्ताव हो ।'

उनले संविधान जारी गर्नुअघि अहिलेकै सरकारलाई राष्ट्रिय स्वरुप दिन पनि कांग्रेस तयार रहेको बताए ।

सरकारकै मुख्य साझेदार एमालेले भने राष्ट्रका सामुन्ने आईपरेको विपति सामना गर्दै पुर्नस्थापना र पुर्ननिर्माणको कार्यलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाउन पनि तत्काल राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने अडान राखेको छ । एमाले अहिलेको सरकारलाई राष्ट्रिय स्वरुप दिन तयार छैन ।

एमालेले एक बर्षभित्र संविधान निर्माण गर्ने कार्यदेशका आधारका कोइराला नेतृत्वको सरकार निर्माण भएको बताउदै संविधान नबनेको फाइदा प्रधानमन्त्रीले लिन नहुने तर्क गरेको छ ।

'संविधान बनेन र म पदमा बसीरहनुपर्छ भन्ने प्रधानमन्त्रीको भनाईसंग हामी सहमत हुन सक्दैनौ' बैठकमा सहभागि एमाले मुख्य सचेतक अग्नि खरेलले भने,'संविधानको अन्तर्वस्तुमा केही समय सहमतिका लागि प्रयास गर्ने हो । सहमति नभएमा अन्य विकल्पबारे पनि कुरा हुन्छ ।'

कस्तो विकल्पबारे भने खरेलले खुलाएनन । तर, बैठकमा जेठ २० गतेभित्र संविधानको अन्तर्वस्तु र प्रकृयामा सहमति नजुटेको अवस्थामा पनि कांग्रेसले सरकारलाई निरन्तरता दिन खोजेमा आफूहरु बाहिरिने घुमाउरो शैलीबाट एमालेले चेतावनी दिएको थियो ।

एमाले उपाध्यक्ष भीम रावलले राष्ट्रिय विपत र संविधान बनाउने महत्वपुर्ण बेलामा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ भन्नेमा सवै दलहरुबीच सैद्धान्तिक सहमति बनेको बताए । 'संविधानको अन्तर्वस्तुको विषय र प्रकृयालाई पनि प्राथमिकताका साथ चाडो भन्दा चाडो टुग्याउने र कहिले सम्म सहमतिको सरकार बनाउने भन्ने बिषयमा सोमबार शिर्ष नेताहरुबीच छलफल हुनेछ' रावलले भने,'राष्ट्रिय विपतिको बेला सहमतिको सरकार पनि छिटो भन्दा छिटो बनाउनु पर्छ भन्नेमा सैद्धान्तिक सहमति छ ।'

कांग्रेस सहमहामन्त्री खड्काले भने बर्तमान सरकारकै नेतृत्वलाई तत्काल राष्ट्रिय स्वरुप दिन सकिने बताउदै सरकारको विकल्प खोज्ने हो भने पहिला संविधान जारी हुनपर्ने बताए ।

एमाओवादीका नेताहरुले भने संविधानको अन्तर्वस्तु र सरकारको बिषयलाई प्याकजमै टुग्याउन पर्ने धारणा राखेको थियो । सरकार परिवर्तनको बिषयमा मात्रै एमाओवादी तयार देखिएको छैन । सरकार परिवर्तन हुनुअघि कम्तिमा संविधानका बिषय र प्रकृयामा सहमति जुट्नुपर्ने एमाओवादीको धारणा छ । एमाओवादी महासचिव कृष्णवहादुर महराले राष्ट्रिय सहमतिको सरकार र संविधानको अन्र्तबस्तुमा सहमति जुटाउने बिषयलाई प्याकेज मै अघि बढाउने समझदारी दलहरुबीच भएको संवाददाताहरुलाई बताए ।

'संविधानको बिषय र प्रकृयामा सहमति जुटाउन २० गते सम्म संविधानसभाको बैठक स्थगित गर्ने सहमति भएको छ'बैठकपछि महराले भने,'संविधान र राष्ट्रिय सहमतिको सरकारको बिषय प्याकेजमा छलफल हुन्छ ।' संविधानसभाको बैठक आइतबार सूचनाबाट स्थगित गरिएको थियो ।

विहान चार दलको बैठकमा उठेका बिषयका बारे पार्टीभित्र छलफल गर्न कांग्रेस र एमालेको आन्तरिक छलफल समेत भएको छ । कांग्रेसको बालुवाटारमा पदाधिकारी बैठक भएको थियो भने एमालेको पूर्व प्रधानमन्त्री माधव नेपालको कोटश्वरस्थित निवासमा बैठक बसेको थियो । एमाओवादीले चार दलको बैठकको विषयलाई लिएर तीस दलिय बैठक राखेको थियो । सोमबार कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेशी मोर्चाका तर्फबाट मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदारबीच हुने बैठकले संविधानको अन्र्तबस्तु र राष्ट्रिय सरकारको स्वरुपबारेपनि टुंगो लगाउने बताइएको छ ।

0 comments

Write Down Your Responses