भारतले दिएको प्रतिबद्धता पूरा भएन, अन्य देशबाट तेल ल्याउने प्रक्रिया शुरु भइसक्यो : कमल थापा

काठमाडौं – उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारत भ्रमणका क्रममा भारतीय शीर्ष नेतृत्वले आपूर्ति व्यवस्था सहज बनाउन दिएको आश्वासन हालसम्म पूरा नभएको बताएका छन् । भारतबाट फिर्ता भएको यत्रो दिन बितिसक्दा पनि सीमानाकामा अवरोध र आपूर्तिमा असहजता कायम रहेकोमा उनले चिन्ता व्यक्त गरेका हुन् ।
शनिबार व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै मन्त्री थापले भने, ‘ म भारतबाट आएको केही दिन बितिसक्यो तर यसबीचमा वार्ताको क्रममा भएको सहजीकरणको प्रतिबद्धता कार्यान्वयन भएको अनुभूति पाएका छैनौं ।’ उनले भारत आफूले दिएको वचन अनुसार अघि बढ्नेमा अझै आशा व्यक्त गरे । ‘भूपरिवेष्टित राष्ट्रको हक र अधिकार दिन भारतले कुनै कसर राख्दैन भन्ने आशा गरेको छु,’ उनले भने ।
थापाले उपलब्ध भएका सबै नाकाहरुबाट आपूर्ति गर्न सहयोग पुर्याउने भारतले आफूलाई वचन दिएको बताएका थिए । ‘रक्सौल नाकामा अड्केर रहेका रिरुटिङ गरेर सहजीकरण गर्ने र नजिकका डिपोबाट इन्धन आपूर्तिमा सहयोग गर्ने प्रतिबद्धता भएको थियो,’ थापाले भने ।

भारत भ्रमणबारे संसद्लाई जानकारी दिँदै थापाले भने, ‘भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा म भारत भ्रमणमा गएँ । जस क्रममा भारतीय प्रधानमन्त्री, विदेश मन्त्री, गृहमन्त्रीलगायत शीर्ष नेतृत्वसँग भेटवार्ता भयो । मैले सो क्रममा परावाहान अवरोध र आपूर्ति व्यवस्था समस्या समाधान गर्न औपचारिक रुपमा कुराकानी गरें । यस भ्रमणबाट दुई देशको सम्बन्धलाई सुदृढ बनाउन मद्दत पुगेको विश्वास लिएको छु । पारवाहन आपूर्ति अवरोध हटाउन सकारात्मक कुराहरु भएको छ । भारतले दिएको आश्वासन इमान्दारिपूर्वक कार्यान्वयन हुने आशा गरेको छु ।’
थापाले इन्धन आपूर्ति सहज बनाउन सरकारले अन्य विकल्पहरुको पनि तयारी गरिरहेको जानकारी दिएका थिए । यसमा सरकार युद्ध स्तरमा काम गरिरहेको उनले बताए ।
त्यस्तै, थापाले आन्दोलनरत मधेशी मोर्चासँग औपचारिक वार्ता शुरु भएको पनि बताएका छन् । ‘मधेशी मोर्चासँगको वार्ताको क्रममा पूर्ववत सरकारले महत्वपूर्ण निर्णय गरेको छ । त्यसमा हाम्रो प्रतिबद्धता रहने छ । औपचारिक वार्ताको क्रमले निरन्तरता पाएको छ । अब भोली फेरि वार्ता हुँदैछ । देशलाई संक्रमणबाट मुक्त गर्न समस्या चाँडो हल गर्नुपर्छ,’ थापाले भने ।




,

0 comments

Write Down Your Responses