भुटानी शरणार्थी नेपाल भारतको बाटो भएर आएका हुन्- ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भुटानबाट लखेटिएका नेपाली भाषी भुटानीहरु भारतको बाटो हुँदै नेपाल आएको बताएका छन् । दक्षिणी भुटानबाट बलपूर्वक लखेटिएका नेपाली भाषी भुटानीलाई नेपाल सरकारले मानवताका आधारमा शरण दिएको उनले बताए ।

तेस्रो मुलुक पुनर्वास कार्यक्रमअन्तर्गत एक लाख भुटानी शरणार्थीलाई विश्वका आठ मुलुकमा सफलतापूर्वक पुनर्वास गरिएको सन्दर्भमा यहाँस्थित अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन र शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालयले बिहीबार आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

झण्डै अढाइ दशकदेखि नेपालले झेल्दै आएको भुटानी शरणार्थी समस्या र त्यसको समाधान गर्न विश्व समुदायले गरेको सहयोगको सराहना गर्दै प्रधानमन्त्री ओलीले बाँकी रहेका करिब १८ हजार शरणार्थीलाई पनि सोही कार्यक्रमअन्तर्गत पुनर्वासको व्यवस्था गर्नुपर्ने धारणा राखे ।

‘हामी भूटानी शरणार्थी समस्या समाधान गर्न चाहन्छौँ, यो साझा समस्या भएकाले यसको समाधानका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न नेपाल सरकार तत्पर छ’, शरणार्थी पनि विश्व परिवारका सदस्य भएको उनले बताए ।

भुटानी शरणार्थीलाई ससम्मान घर फर्काउन धेरै चरणमा भूटान सरकारसँग वार्ता भएको तर त्यसले कहिल्यै निकास नपाएपछि आफू उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री हुँदा तेस्रो मुलुक पुनर्वासको नयाँ सोचका साथ अन्तर्राष्ट्रिय जगतसँग छलफल चलाएको स्मरण गर्दै उनले त्यसैको परिणामस्वरुप आज एक लाख शरणार्थी तेस्रो मुलुकमा पुनःस्थापित हुन सकेको उल्लेख गरे ।

नेपालका लागि अमेरिकी राजदूत र अष्ट्रेलियाली राजदूत क्रमशः अलाइना टेपलिट्ज र ग्लेन ह्वाइटले एक लाख शरणार्थीलाई तेस्रो देशमा पुनर्वास गराउन सक्नु ठूलो उपलब्धि भएको उल्लेख गरेका थिए ।

कार्यक्रममा दिइएको जानकारी अनुसार अमेरिकाले ८४ हजार ५००, क्यानाडाले छ हजार ५००, अष्ट्रेलियाले पाँच हजार ५५४, न्युजिल्याण्डले एक हजार दुई, डेनमार्कले आठ सय ७४, नर्वेले पाँच सय ६६, बेलायतले तीनसय ५८ र नेदरल्यान्डस्ले तीनसय २७ जनालाई पुनर्वास गराएका छन्। रासस

,

0 comments

Write Down Your Responses