उड्डयनमन्त्री खबरै नगरि गगल्स लाएर राति विमानस्थल

मंसिर ४, २०७२- बिहीबार साँझ एक्कासी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनौपचारिक निरीक्षण गर्नका लागि त्यहाँ पुग्दा कसैलाई केही खबर गरिएको थिएन ।

मन्त्रीको निरीक्षण हुने सूत्रबाट थाहा भएपछि मेरो यात्रा हतारमा उतै सोझियो विमानस्थलका कुनै पनि कर्मचारीलाई मन्त्रीको निरीक्षण बारे सुइँको थिएन । त्यसैले हामी ८ बजे त्यहाँ पुग्दा उनीहरु सबै आफ्नै सुरमा मस्त थिए । मन्त्रीको अवलोकन प्रस्थान कक्षबाट सुरु भयो । अन्य समयमा भन्दा भीड केही कमै थियो । मन्त्री पोखरेलले प्रस्थान कक्षमा फारम भरिरहेका केहीसँग भलाकुसारीसमेत गरे । उनी को हुन् र किन प्रश्न गरिरहेका छन् भनेर यात्रुहरुमा कौतुहल थियो । तर, त्यहाँ कुनै गुनासो भने सुनिएन । त्यसपछि मन्त्री पोखरेलले अध्यागमनका कर्मचारीसँग कुराकानी गरे । रातिको समयमा गगल्स लाएर काउन्टरमा बसेकी एक महिला कर्मचारीसँग उनले त्यसको कारण सोधेका थिए ।





जवाफमा महिला कर्मचारीले आँखामा केही समस्या भएका कारण त्यो लगाएको बताएपछि उनले रातिको सिफ्ट नगरेको भए हुने भनेर सुझाव दिए । उनले एक पुरुष कर्मचारीलाई ‘यात्रुलाई दिने सेवाबाट तपाईं आफैं सन्तुष्ट हुनुहुन्छ ?’ भनेर प्रश्न गर्दा कर्मचारी अक्क न वक्क परे । उनले लजाउँदै ‘सन्तुष्ट छु,’ भनेपछि मन्त्रीले भने, ‘स्योर हुनुहुन्न रहेछ । स्योर भएर काम गर्नुस् ।’ मन्त्री पोखरलले विमानस्थलमा भेटिएका डीआईजी विजयलाल कायस्थलाई विमानस्थलमा भएका पसलहरुबाट नै गैरकानुनी कामहरु हुने भन्ने सुनेको भनेर समेत जिज्ञासा राखे । कायस्थले पहिला के कस्तो थियो थाह नभएको र आफू आएपछि भने त्यस्तो घटना नभएको दावी गरे । विमानस्थलका कुनै पनि कर्मचारीलाई धेरै पछिसम्म पनि मन्त्रीले निरीक्षण गरिरहेको कुरा खबर भएको थिएन । त्यसैले सबैजना आफ्नो सुरमा र आफ्नै तालमा काम गरिरहेका थिए ।

अध्यागमन कटेर प्रतिक्षास्थलमा पुगेपछि भने उनी त्यहाँको भिड देखेर केही झस्किए । ब्रिफिङ गरिरहेका डीआईजीले उनलाई धेरै फ्लाइट भएको समयमा उभिन पनि मुस्किल हुने जानकारी दिएका थिए । कायस्थले नै प्रतिक्षालयको एसीदेखि फ्यानसम्म सबै बिग्रिएको जानकारी दिएका थिए । मन्त्री पोखरेलले प्रतिक्षालयमा रहेको शौचालयको पनि निरीक्षण गरे । ‘यहाँको शौचालय साह्रै फोहोर हुन्छ भन्ने सुनेको छु,’ मन्त्री पोखरेलले यति भनेपछि डीआईजीले उनलाई शौचालय देखाउन लगे ।

यात्रु प्रतिक्षालयपछि विमान ट्याक्सी एरियातर्फ मन्त्री अघि बढे । ट्याक्सी एरिया निकै अँध्यारो देखेपछि उनले यसको सुरक्षा संवेदनशीलता बारे सोधे । त्यसपछि हामी विमानस्थलको रनवे तल रहेको ब्यागेज ह्याडिलिङ क्षेत्रतर्फ लाग्यौं । यात्रुहरुको ब्यागेज कसरी ह्ल्यान्डलिङ गरिन्छ भन्ने निरीक्षण गरेपछि उनले तस्करीलाई रोक्न अपनाइएका प्रणालीहरुबारे प्रश्न गरे । सँगै उनले यात्रुहरुको ब्यागेजबाट सामान चोरी हुने गुनासोको बारेमा पनि सोधखोज गरे ।

ब्यागेज ह्यान्डलिङलाई नजिकबाट नियालेपछि हामी आगमनकक्ष तर्फ लाग्यौं । आगमन कक्ष पुरै सुनसान थियो । त्यहाँका अध्यागमनका कर्मचारीहरु फेसबुक चलाउन र गफ गर्न मस्त थिए । ‘हामी आउने थाहा पाएको भए के यिनीहरु यस्तै गरि बस्थे,’ मन्त्री पोखरेलले यसोभन्दा डीआईजी मुसुक्क हाँसे मात्रै । त्यहाँबाट हामी विमानस्थलको कार्यालयतर्फ लाग्यौं ।

कार्यालयस्थलमा रहेको सीसीटीभी मनिटर रुमको निरीक्षणको बेलामा मन्त्री पोखरेलले कुनै क्यामरा धमिलो र कुनै सफा हुनुको कारण सोधे । यस्तै विमानस्थलको पसल क्षेत्रको कसरी निगरानी गरिएको छ त्यसको बारेमा पनि सोधेका थिए । र, त्यहाँ कार्यरत अफिसरलाई देखाउन भने । त्यहाँबाट बाहिर निस्किएर यात्रुको लगेज लिने ठाउँ पुग्दा झोलै झोलाको थुप्रो देखेर उनी आश्चर्यमा परे । ‘यत्रो झोला यहाँ किन ?’ उनले भने । ‘हजुर नाकाबन्दीका कारण, प्लेनले धेरै फ्युल बोकेर आउँछन् ।

तर सामान पछि ल्याउँछन् । कतिको त दस दिनपछि सामान आउँछ,’ कायस्थले भने, ‘त्यसैले लिन कोही नआएका सामानहरु थुप्रेका हुन् । अझ दिउँसो झन् धेरै हुन्छ ।’ त्यहाँको पनि निरीक्षण गरेपछि मन्त्री पोखरेलले भीआईपीकक्षको निरिक्षण गरे । त्यहाँ त्रिभुवन विमानस्थालका डिउटी ईञ्चार्ज भानुभक्त कोइराला र दीपक ओझासँग पनि उनले केहीबेर छलफल गरे ।

मन्त्री पोखरेलले विशेष गरेर विमानस्थलमा कर्मचारीको क्रियाकलाप, सरसफाई र यात्रुले पाउने दु:खका बारे सकेसम्म धेरै जानकारी लिने प्रयास गरेका थिए । उनले एयरपोर्ट ट्याक्सीको बारेमा पनि सोधखोज गरेका थिए । तर, डिउटी इञ्चार्जले आफू नयाँ भएकोले धेरै कुरा थाह नभएको बताएका थिए । उनका अनुसार यो अनौपचारिक निरीक्षण कहाँ के छ भनेर जान्नका लागि मात्र हो । ‘आफैंले हेरेर थाहा नभएसम्म अरुलाई के भन्ने भनेर हेर्न आएको हुँ,’ उनले भने, ‘अहिले यस्तो उस्तो भनेर प्रचार गर्नु ठीक हुँदैन । मैले देखेका कुरालाई सुधार गर्न के गर्नुपर्छ त्यो गर्ने छु अनि सबैले थाहा पाएको राम्रो ।’ आजको ईकान्तीपुरबाट।

,

0 comments

Write Down Your Responses