‘ज्यान रहे बन्छ घर’

पोखरा, जेष्ठ १५ - नौ वर्ष कतारको गर्मीमा मिस्त्री काम गरेका कलामुद्दीन मियाँ अहिले रनभुल्लमा छन्। गोरखाको सौरपानी ४ का मियाँ भूकम्पमा घाइते भएर उपचार गराइरहेका छन्। ‘अहिले यति सोच्छु। ज्यान स्वस्थ भयो भने घर उभ्याउँला,’ उनले भने, ‘नौ वर्ष मरुभूमिमा रगतपसिना गरेर जोडेको पैसाले उभ्याएको घर छिनमै चकनाचुर भयो।’

यहाँको विरौटास्थित ज्योति भोकेसनल तालिम केन्द्रको भवनमा शरण लिएका तीन दर्जन भूकम्पपीडितमध्ये घर कसरी बनाउने भन्नेमा मियाँको विचार केही फरक छ। ‘अब हामीले भूकम्प थेग्ने घर बनाउने हो। यसका लागि खाडी र अरू देशमा काम गरिरहेका आफ्नै दाजुभाइलाई बोलाउनुपर्छ,’ उनले भने, ‘सस्तोमा बलियो घर बनाउन उनीहरूले काम गर्न सक्छन्।’ खाडी मुलुक पुगेका नेपाली श्रमिक घर र भवन बनाउने काममा धेरै खटिएका हुनाले अनुभव रहेको उनले बताए।

‘पहिले सरकारले त्यस्तो काम गरिरहेकाको सूची बनाएर बोलाउने हो भने धेरै खर्च लाग्छ जस्तो मलाई लाग्दैन,’ उनले भने, ‘ऋण दिएरै पनि त्यसबाट बनिने घर हामीले भूकम्प थेग्ने बनाउन कामदार पाएनौं भने जोखिम जस्ताको तस्तै रहिरहन्छ।’ मियाँका छोरा, छोरी, नाति गरी ११ जनाको परिवार छ। उनी खुट्टाको चोटको उपचारका लागि यहाँ रहँदा पत्नी मुमिनासँगै छिन्। उनले भनिन्, ‘हाम्रो टोलमा घरले किचेर चार जनाको ज्यान गयो। अहिले लाग्छ, ज्यान बाँच्यो भने पालमा पनि टाउको लुकाइन्छ। बिस्तारै घर बनाउँछ। जेहोस् कसैको ज्यान नजाओस्।’

गोरखाकै गुम्दा ५ की ४५ वर्षीया चिनमाया गुरुङलाई उठाइदिनु–बसाइदिनुपर्छ। खानीबेंसीको बगरमा उनले चियापसल चलाएकी थिइन्। भूकम्प आएपछि भाग्दा माथिबाट खसेको ढुंगा ढाडमा बज्रियो। उनको सहित चार घरलाई पहिरोले पुर्‍यो। ‘ज्यान बिसन्चो हुनु त साह्रै गाह्रो,’ उनले भनिन्, ‘अहिले बुढाले मलाई दिसापिसाब गर्न लैजान सहारा दिनुपर्छ। उता तीन/तीन केटाकेटी के खाँदा हुन्। पालमा कसरी बसेका होलान् भन्ने चिन्ता लागिरहने।’ घटनाको तीन सातापछि मात्रै उनले अस्पताल आउन पाएकी हुन्। सुरुमा गाउँकै ओखतीमुलोले ठीक हुने ठानेर बस्दा समस्या बढेको उनले बताइन्। ‘२५/२६ दिनपछि अस्पताल आउन पाइयो,’ उनले भनिन्, ‘अहिले लाग्छ जेसुकै भए पनि मान्छेको स्वास्थ्य ठीक हुनुपर्छ। यति भए घरवास बनाइन्छ।’ हिँड्न मिल्ने अवस्था भएपछि आफूलाई छिटो फिर्न र बासको प्रबन्ध गर्न मन भएको उनले सुनाइन्।

बारपाक ७ की ६५ वर्षीया धनमाया गुरुङको पनि आफ्नै खालको समस्या छ। छिटो निको भएर जान मन भए पनि उनलाई चिकित्सकले अझै तीन महिना निगरानीमा रहेर उपचार गराएमात्रै सन्चो हुने बताएका छन्।

घर लडेर थिचिँदा धेरै ठाउँ भाँचिएको उनको देब्रे खुट्टा स्टील लगाएर अड्याइएको छ। ‘म त पँधेरामा लुगा धुँदै थिए। भूकम्प आएपछि घरतिर दौडिएको,’ साथमा रहेकी कान्छी छोरी सन्तमायाले भनिन्, ‘सबै घर लडेर बस्तीमा छिर्नै सकिएन। आमालाई घरले चेपेछ।’

धनमायाका श्रीमान्को निधन भएको ६ वर्ष पुग्यो। जेठी छोरी बिहेपछि ज्वाइँको घर र छोरो काम खोज्न भारत गएका छन्। ‘दाजुले फोन गरेको थियो। उसले आएर पनि अब के गर्छ’, आमाको स्याहार गरिरहेकी सन्तमायाले भनिन्, ‘हामी दुईमात्रै थियौं घरमा। अब आमा बिसेक नभएसम्म म त घर कसरी बन्छ भन्ने नै सोच्दिन।’

धादिङ सदरमुकामबाट ५ घण्टा दूरीको बुढाथुम ५ बेसारीका ९ वर्षीय देवबहादुर कोइराला आफ्ना तीन साथीसँग खोलामा पौडी खेल्न गएका थिए। आमा दिलमाया गाग्रोमा पानी लिएर घर फिर्दै थिइन्। ‘लडाइगो पाल्टाङपुल्टुङ पार्दै। गाग्रो अँठ्याएर बल्लतल्ल बाँचियो। खोला गएको कान्छो छोराको फिक्री भयो,’ दिलमायाले भनिन्, ‘घर सबै लडिगए। खोलातिर पहिरो खसेछ। हामी आमाजति कसैलाई गाउँलेले जान दिएनन्।’

पहिरोले पुरेर देवबहादुरका तीन सहपाठीको ज्यान लियो। ढुंगाले च्यापिएर उनको भने देब्रे खुट्टा भाँचिएको छ। दिलमाया र ज्ञानबहादुरका ५ सन्तानमध्येका काइँला रमेशले भूकम्पको १२ दिनअघि घर छाडेका थिए।

६ कक्षा पढ्दै गरेका उनी पोखरको लेकसाइडस्थित एउटा होटलमा काम गर्न आए। उता घर भत्कियो। भाइ घाइते भएको खबर पाएपछि उनले नै पोखरास्थित बालहितकारी परियोजनाको आवधिक आश्रयमा आमा र भाइलाई हेरबिचार गरिरहेका छन्।

अहिले दिलमायालाई छोरा निको भएर डाक्टरले ‘अब घर गए हुन्छ’ भन्ने दिनको पर्खाइ छ। ‘जाने हो एउटा भंैसीको पाडी छ, बाख्रा छन्,’ उनले भनिन्, ‘गरिबले घर बनाउन गाह्रो छ। तर, ओताउने केही न केही गरिएला। सरकारले पनि हेर्ला भन्ने लाग्छ।’ सबै सकुशल गाउँ फर्कन पाए बासको प्रबन्ध जुट्दै जाने उनले बताइन्।

धादिङकै री गाविस ९ का १२ वर्षीय दिनेश तामाङको पनि देब्रे खुट्टा भाँचिएको छ। ‘त्यो दिन टाउको दुखेर सुतेको थिएँ,’ उनले भने, ‘घर लड्यो। सुतेकै ठाउँमा म किचिएको।’ आमा कान्छीमायालाई छोरा निको हुने दिनको प्रतीक्षा छ। ‘गाउँमा ५ जना मरे, हाम्रा दुइटा भैंसी गोठमै च्यापिए,’ उनले सुनाइन्, ‘मान्छे बाँच्यो भने गुजारा त कसैगरी चल्छ होला। घर बनाउन त गाह्रै छ। कसरी बनाउने भन्ने सोचेकै पो छैन।’

यहाँको आवधिक आश्रयस्थलमा बसेका घाइते र कुरुवाका लागि बसेर गर्न सकिने तालिम पनि चलाइएको बालहितकारीका सुपरभाइजर सुशील केसीले बताए। उनका अनुसार यहाँ आश्रय दिएमध्ये ६५ जना घर फिरेका छन्। ‘अब २९ घाइते र उहाँहरूका कुरुवा छन्,’ उनले भने, ‘हामीले दिने आवधिक आश्रयमा खानबस्न र नियमित स्वास्थ्योपचारको काम हो।’ पोखराका आवधिक आश्रयस्थलमा बसेर फिरेकाले घर बनाउने चाँजोपाजोका लागि सल्लाह र तालिम भने पाएका छैनन्।

घर बनाउन आत्तिनुपर्दैन

स्थानीय स्रोतसाधनको प्रयोगबाट पनि बलियो घर बनाउन सकिने यहाँस्थित पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पसका प्रमुख नारायणप्रसाद गौतमले बताएका छन्। भूकम्पपछि विभिन्न जिल्लामा गर्न सकिने निर्माणको अवलोकन गरेर फर्केका उनले भने, ‘आत्तिनु पर्दैन। अहिलेको बुझाइ पक्की घरमात्रै भूकम्पप्रतिरोधी हुन्छ भन्ने देखियो, त्यसो होइन।’ ढुंगा फुटाएर, तह मिलाएर बनाएका माटो–ढुंगाका पनि काम लाग्ने हुन्छन्।

‘स्थानीय स्रोतको प्रयोग गर्दा ठिक्कको घर ३ लाखमा बन्छ’, उनले भने, ‘चारकोठे पक्कीघर नै बनाउने, भूकम्पप्रतिरोधी विधिमा सम्झौता नगर्ने हो भने १५/१६ लाखको लागत पुग्न सक्छ।’ हाल अलमलमा रहेकालाई आफ्नै घरका काठपात र ढुंगामाटोको प्रयोगले बनाउन सिकाउनुपर्ने उनले बताए। ‘यसका लागि स्थानीयस्तरमा काम गरिरहेका मिस्त्रीले पनि केही सिक्नु जरुरी छ,’ उनले भने, ‘निर्माणमा लापरबाहीले नै जोखिम हुने हो। मिलाएर बनाएका भवन सानोतिनो धक्काले लड्दैन।’

,

0 comments

Write Down Your Responses