युवराज दुलाल, प्रचण्डका अंगरक्षक तथा पूर्वमाओवादी लडाकुका डिभिजन सहायक कमाण्डर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनअघि आफूमाथिको सुरक्षा खतराबारे दिएको अभियक्तिलाई लिएर विभिन्नथरि व्याख्या र प्रचार–प्रसार भएका छन् ।कसैले त्यसलाई स्वभाविक भनेका छन् । कतिले प्रचण्ड डराएको रुपमा बुझेका छन् । केहीले ‘पोलिटिकल स्टन्ड’ भनेको पनि सुनियो । पूर्वजनमुक्ति सेनाको जिम्मेवार सदस्य र अध्यक्ष प्रचण्डको सुरक्षामा केही वर्ष काम गरेकाले त्यसबारे केही भन्नु आफ्नो कर्तव्य सम्झेको छु । प्रचण्डले तक्रियावादी क्याम्पभित्र ‘आफूलाई भौतिक रुपमा सिध्याउने’ खेल भइरहेको बताउनुभएको छ । त्यो आंशिक सत्य, आशंका वा विश्लेषणका आधारमा गरिएको कुरा होइन । त्यो सतप्रतिशत सही कुरा हो र त्यसभित्र गम्भीरता पनि लुकेको छ । प्रचण्डलाई विभिन्न चरण र समयमा सुरक्षाको खतरा थियो । उहाँलाई भौतिक रुपमा सिध्याउन खोजिएकै थियो । त्यसका चार प्रमुख घटनाको यहाँ उल्लेख गर्न चाहेको छु ।
कोतपर्वकै निरन्तरतामा प्रचण्डमाथि षड्यन्त्र नेपालमा कोतपर्व, भण्डारखाल पर्व, मदन भण्डारी हत्या प्रकरण र तत्कालीन राजा वीरेन्द्रको वंशनाशजस्ता थुप्रै राजनीतिक प्रकृतिका डरलाग्दा घटना भएका छन् । ती सबै घटनापछि नेपालको राजनीतिले अर्को मोड लिएको छ । प्रकारान्तरले ती नयाँ राजनीतिक मोडहरु नेपाली जनताका लागि अभिषाप सिद्ध भएका छन् । जति पनि उच्च राजनीतिक नेतृत्वको हत्या भयो ती सबै नेपालमा अस्थिरता नचाहने वैदेशिक शक्तिको योजनामा भएका हुन् । यो मेरो होइन इतिहासकारहरुले अनुसन्धानबाट गरेको दाबी हो । भित्र डिजाइन जसले बनाएको भए पनि बाहिर घटना भने विदेशी शक्तिका नेपाली मतियारमार्फतै भएको छ । चाहे त्यो जंगबहादुरको उदयका लागि भएको कोत पर्व होस् वा ज्ञानेन्द्रको उदयका लागि भएको दरबार हत्याकाण्ड होस् । ती सबै घटना नेपाली माटोमा घटेका थिए । तर योजना बाहिरै बनेका थिए । प्रचण्डको हकमा पनि त्यही कुरा लागू हुन्छ ।
कार्यकर्ताबाट खतरा भन्नु बेइमानी प्रचण्डले आफूमाथि सुरक्षा खतरा रहेको बताएपछि गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर आफू गम्भीर रहेको संकेत गर्न खोज्यो । तर गृहकै नेतृत्व गरेका बामदेव गौतम भन्दैछन्, ‘प्रचण्डमाथि पार्टीभित्रैबाट खतरा छ ।’ यो उनको सरासर गैरजिम्मेवार अभिव्यक्ति हो । विषयको गम्भीरतालाई नबुझेर वा बुझेर गृहमन्त्रीले यस्तो गम्भीर विषयलाई उडाउन खोज्नु बिडम्बवाको कुरा हो । प्रचण्डको सुरक्षामा नेपाली जनता र एमाओवादी कार्यकर्ताबाट कुनै चुनौती छैन । कसैले स्वीकार गरोस् वा नगरोस् प्रचण्ड नेपालको नेता नम्बर–१ हो । प्रचण्डबाट बढी अपेक्षा गरेका कारण आक्रोश उहाँमाथि नै केन्द्रित हुनु पनि स्वभाविकै हो । हाम्रो पार्टीभित्र कयौं विषयमा नेताहरुसँग कार्यकर्ताका चित्त दुखाई, गुनासा र असन्तुष्टि रहेको साँचो हो । तर त्यो प्रचण्डको हत्या गर्ने कुराको कसैले कल्पनासम्म गर्न सक्दैन । जनयुद्धबाट खारिएर आएका योद्धाहरुबाटै प्रचण्डलाई खतरा छ भन्नु गृहमन्त्रीको लाचारी र बेइमानीबाहेक केही होइन । पार्टीभित्र र जनताबाट खतरा भएको महसुस न प्रचण्डलाई भएको छ एमाओवादीलाई नै ।
प्रचण्डको हत्याका लागि भएका विभिन्न असफल प्रयासबारे बुँदागत रुपमा उल्लेख गर्न चाहन्छु ।
प्रकरण नम्बर–१
प्रचण्डको नेतृत्वमा २०५२ फागुन–१ मा जनयुद्धको विधिवत सुरुआत भयो । सुरुका केही दिनमा सत्ताधारीहरुले ‘गुलेली चलाउन नजान्नेले कसरी बन्दुक चलाउँछन् ?’ भनेर हाँसो ठट्टामा उडाउनेहरु अहिले पनि राजनीतिमा छँदैछन् । लोकलाजका अगाडि मुख देखाउन त्यही गुलेली चलाउन नजान्नेको एजेण्डामा लतारिएको सबैलाई थाहा छ । जब गुलेलीभन्दा भन्दै बन्दुक पड्कन थाल्यो त्यसपछि उनीहरुले माओवादीलाई लुटेरा समूह करार गरे । अराजनीतिक समूह भएको ठूलै हल्ला पिटाए । त्यतिले पनि आन्दोलन रोक्न नसकेपछि अन्तिम अस्त्रका रुपमा ठूलै लुटेरा अर्थात आतंककारी घोषित गरे । ‘आतंककारी’ का टाउेका थिए प्रचण्ड । सत्ताधारीले आतंकारी नाइकेहरुका टाउकाको मूल्य तोके । खुलेआम हत्या गर्ने धम्की धेरैपटक दिए । सेना लगाए । पुलिस लगाए । अमेरिकासहित अन्तर्राष्ट्रिय शक्ति केन्द्रबाट सैन्य, भौतिक र प्राविधिक सहयोग लिए । जनस्तरबाटै प्रचण्डलाई मारेर टाउको बुझाउनेलाई पुरस्कृत गर्ने फर्मान गरे । केही उट्पट्याङ सोच भएकाहरु सत्ताधारीको लहैलहैमा लागेर ५० लाख पाउने सपनामा प्रचण्डको टाउको खोज्न रुकुम रोल्पातिर गए । यी कुनै बनावटी कुरा होइनन् । त्यतिबेला भएका घटना हुन् । तर कसैको केही चलेन । जनता, कार्यकर्ता र जनमुक्ति सेनाले प्रचण्डसहित आफ्ना नेताहरुको सुरक्षा गरे ।
प्रकरण नम्बर–२
prachanda securityसंविधानसभाको पहिलो निर्वाचनमा माओवादीको रोल्पा रुकुम लगायत केही जिल्लाबाट सीमित सिट आउँछ भन्ने भविष्यबाणी गरिएको थियो । नेपालका कुनै पनि राजनीतिक दल र विदेशीहरुलाई माओवादीले प्रत्यक्षतर्फ बहुमत ल्याउँछ भन्ने कल्पनै गरेका थिएनन् । यदि उनीहरुले त्यस्तो सोचेका थिए भने चैत २०६४ चैत २८ मा निर्वाचन हुनै दिँदैनथे । निर्वाचन मिति घोषण भएसँगै विस्तारै देशव्यापी रुपमा माओवादीका पक्षमा जुन उभार आयो त्यो देखेर विरोधीहरुको क्याम्पमा भूइँचालो नै गयो । माओवादीले जित्ने भयो भनेपछि प्रचण्डमाथि सुरक्षा खतरा बढाइयो । एकातिर सांकेतिक रुपमा धम्की नै दिने र अर्कोतिर ‘तपाईंमाथि भौतिक रुपमा खतरा छ, चुनावी सभाहरुमा नजानुहोला’ भन्दै मनोवैज्ञानिक दबाब दिने काम त्यतिबेला धेरै भएका थिए । किन भने प्रचण्ड जहाँजहाँ गयो त्यहाँयहाँ माओवादीप्रति जनलहर उर्लेको थियो । प्रचण्डले त्यस्ता कुराको प्रवाह गर्नुभएन । उहाँ पार्टीद्वारा देशका अधिकांश स्थानमा तय गरिएका चुनावी सभामा सहभागी हुनुभयो । अन्तिममा पाँचथर सदरमुकाम फिमिदसहित पूर्वी पहाडी जिल्लाका केही स्थानका सभामा जान भने हामीले हामीले प्रचण्डलाई रोक्यौं । उहाँले जसरी पनि जाने कुरा गर्नुभएको थियो । तर हामीसहित राज्यको सुरक्षा संयन्त्रले पनि उहाँलाई जान दिएन । हामीलाई त्यसबेला केही डरलाग्दा सूचनाहरु आएका थिए । ती सबै हावादारी थिएनन् । त्यसलाई पत्याउन सकिने आधारहरु थिए ।
जब केही गम्भीर प्रकारका सूचना आए त्यसपछि उहाँको सुरक्षा बढायौं । चिवनको शक्तिखोरमा जनमुक्ति सेनाको तेश्रो डिभिजनको शिविर थियो । त्यबाँबाट दुई जना ब्रिगेड कमाण्डरको नेतृत्वमा एक सयजना छानिएका फाइटरहरु काठमाण्डुमा खटायौं । उनीहरु सबैसँग स्वचालित हतियार थिए । कोही गाडीमा, कोही मोटरासइकलमा र कोही सार्वजनिक सवारी साधनमा पनि हिंड्थे । उनीहरु काठमाण्डुभरि छरिएका थिए । ती ‘सार्प सुटर’ हरुले प्रचण्डको हत्या गर्न जसलाई खटाइएको छ भनिएको थियो, तिनीहरुको निगरानी गरेको थियो । हाम्रो शक्तिले पिछा गरेको थाहा पाएपछि बिस्तारै त्यो समूह डराएर पछि हटेको थियो । त्यसरी हतियारधारीहरु प्रचण्डको सुरक्षामा खटिएको कुरा राज्य संयन्त्रलाई थाहा थियो । राज्यको स्वीकृतिमा त्यसो गरिएको थिएन, तर हतियार बोकेर राजधानीमा एक सयभन्दा बढी युवा खुलेआम हिंड्दा एकजना पनि नसमातिनु भनेको राज्यको अघोषित स्वीकृति थियो भन्ने बुझ्नुपर्छ । त्यो समूहले प्रचण्डको हत्या गर्न खटिएका अपराधीहरुलाई काउण्टर अट्याक पनि गर्न खोजेको थियो । आक्रमण भएको भए ती सबैलाई सखाप पार्ने तयारी हाम्रो थियो । उनीहरु डराएर पछि हटे र बाँच्न सके । हाम्रो सजकताकै कारण त्यतिबेला प्रचण्डमाथिको आक्रमणको योजना तुहिएको हो ।
प्रकरण नम्बर–३
पहिल्यैदेखि अमुक शक्तिबाट प्रचण्डलाई खतरा छँदै थियो । प्रधानमन्त्री भएपछि त्यो थप बढेर गएको थियो । रुक्मांगत कटवालमाथि तत्कालीन सरकारले बाहिर आएका कारणहरुले गर्दा मात्र एक्सन गरेको थिएन । त्यसका भित्री कारणहरु पनि थिए । ती समय क्रममा बाहिर आउने नै छन् । प्रचण्डले कारबाही नगरको भए पनि कटवालले प्रचण्ड सरकारलाई ‘कू’ गर्ने खतरा थियो । उनले आफ्ना जासुरहरुलाई प्रधानमन्त्रीको सुरक्षामा खटाएका थिए । उनीहरुले प्रचण्डका स–साना गतिविधिको रिपोर्ट कटवालकोमा पु¥याउँथे । कटवालले प्रधानमन्त्रीको एडीसीका रुपमा खटाएका अरुण पाल नै सुराकी थिए । त्यही कारण उनीप्रति प्रधानमन्त्री कहिल्यै आश्वस्त हुन सक्नुभएन । पाल नजिक आएपछि प्रचण्ड सुरक्षाप्रति ढुक्क हुनुको साटो नआइदिए हुन्थ्यो भन्ने गर्नुहुन्थ्यो । कयौं ठाउँमा जाँदा पाललाई छलेर हिंड्ने गर्नुभएको थियो । प्रधानमन्त्रीबाट राजीनामा दिएपछि प्रचण्ड आफैंले ‘बालुवाटारभित्रै मेरो हत्याको योजना बनेको थियो’ भनेर कयौंपटक सार्वजनिक रुपमा बोल्नुभएकै हो । कटवालका त्यो बेलाका र त्यसयताका पनि गतिविधि हेर्दा ती सबै झुठ थिए भन्न म सक्दिन ।
प्रकरण नम्बर–४
विभिन्न वैध र अवैध जालसाँझीद्वारा एमाओवादीलाई दोश्रो संविधानसभामा तेश्रो शक्तिमा झारियो । माओवादीलाई साइजमा ल्याएपछि परिवर्तनका एजेण्डा सकिनेछन् भन्ने केहीलाई लागेको थियो । तर त्यसो गर्न सोचेजति सजिलो थिएन र भएन । परिवर्तनका एजेण्डाबाट पछि हटेका काँग्रेस–एमाले प्रचण्डले परिवर्तनका पक्षमा लिएको अडानबाट आतंकित र भयभित भएका छन् । उनीहरुमा सकिएको भनिएको माओवादी फेरि जाग्न लागे भन्ने पर्न गएको छ । परिवर्तनका पक्षमा अडान लिएका कारण प्रचण्डमाथि सुरक्षा ‘थ्रेट’ बढाइएको छ । प्रचण्डको कुरालाई गम्भीर रुपमा लिएर उचित सुरक्षा प्रबन्ध मिलाउनुको साटो गृहमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले उडाउन खोजेका छन् । ख्यालख्याल गर्दा गर्दै मदन भण्डारीको हत्या भयो । ख्यालख्यालमै वीरेन्द्रको वंश नास भयो । यी घटनाक्रम सबै जनता र राजनीतिज्ञहरुलाई थाहै छ । वैदेशिक शक्ति केन्द्रको ‘इन्ट्रेस्ट’ विपरीत कसैले अडान लियो भने उसको जीवन नै खतरामा पर्दै आएको छ । बारम्बारका घटनाले पुष्टि गरेको तथ्यलाई बुझ्नुको साटो सरल रुपमा बुझेर उल्टै प्रचण्डलाई उडाउने काम भयो । आफ्नै पार्टीका महासचिव मदन भण्डारीको हत्याबारे जानकार रहेका गृहमन्त्रीले यो विषयलाई हाँसोमा उडाउनु गम्भीर बिडम्वना मात्र होइन, कमजोरी र असक्षमता समेत हो ।
प्रचण्डलाई मर्छु कि भन्ने चिन्ता छैन
प्रचण्डको सुरक्षा चासो र त्यसबारेको मनोविज्ञानलाई मैले नजिकबाट हेरेको छु । म करिब पाँच वर्षसम्म उहाँको एडिसीका रुपमा रहें । मैले त्यो बीचमा अनुभूति गरेको कुरा के हो भने प्रचण्डलाई आफ्नो व्यक्तिगत सुरक्षाको बढी चिन्ता छैन, जति मुलुक, जनता र परिवर्तनप्रति चिन्ता छ । आफ्नो व्ययक्तिगत जीवनको चिन्ता गर्ने व्यक्तिले १० वर्षसम्म जनयुद्ध र शान्ति प्रक्रिया सुरु भएयता प्राप्त राजनीतिक उपलब्धी संस्थागत गर्न यति धेरै संघर्ष गर्नै सक्दैन । प्रचण्डका अगाडि एक दुई होइन, सयौं चुनौती छन् । सामान्य मान्छेले यति धेरै चुनौतीको एकैपटक सामाना गरेर अघि बढ्नै सक्दैन । रिवर्तनका एजेण्डाको रक्षााका लागि मर्न तयार भएको व्यक्तिले डराएर ‘रुवाबासी’ गरेको भन्ने सोच्नु उहाँमाथिको अविश्वास, धोका र विश्वासघात मात्र हो । यो उहाँमाथिको अन्याय पनि हुनेछ । अहिलेसम्म मेरो ज्यानको खतरा छ म त्यो ठाउँमा जान्न भन्ने वाक्य प्रचण्डको मुखबाट सुनेको छैन ।
सरकार सचेत होस्
सरकारले समयमै प्रचण्डको उचित सुरक्षा प्रबन्ध मिलाउनुपर्छ । राष्ट्रिय अन्र्तराष्ट्रिय शक्तिकेन्द्र र खुफिया एजेन्सीबाट हुन सक्ने खतरातर्फ सरकार सकेत रहनैपर्छ । सचेत गराउँदा गराउँदै प्रचण्डा वा अरु कुनै नेतामाथि घटना घट्न गयो भने त्यसको जिम्मेवार सम्पूर्ण रुपले सरकार हुनेछ ।
गिरिजालाई प्रचण्डको सुरक्षा चिन्ता थियो
प्रचण्डप्रति धेरैको आशा र विश्वास भएकाले सुरक्षामा पनि चिन्ता हुनु स्वभाविकै हो । मैले प्रचण्डको सुरक्षामा तत्कालीन प्रधामन्त्री गिरिजाप्रसाद कोइरालाजति गम्भीर र चिन्तित भएको कोही पनि देखेको छैन । त्यसैले चौतर्फी विरोधबीच गिरिजाप्रसादले प्रचण्डको सुरक्षामा प्रहरी र सशस्त्र प्रहरीभन्दा भित्री घेरामा जनमुक्ति सेना राख्न सहमति दिनुभएको थियो । गिरिजाप्रसाद आफैं प्रचण्डको सुरक्षा ‘थ्रेट’ बारे सूचना दिनुका साथै सचेत गराउने गर्नुहुन्थ्यो । गिरिजाप्रसादले सुरक्षाको दृष्टिले उपयुक्त नभएको भन्दै पटकपटक नयाँबजारको डेरा छाड्न प्रचण्डलाई सुझाव दिनुभएको थियो । अन्तिममा हैरानै भएपछि उहाँकै सुझावमा प्रचण्ड अहिले बसिरहेको लाजिम्पाट सर्नुभएको हो ।
प्रचण्डका पूर्वअंगरक्षक भन्छन्, ‘उहाँलाई चारपटक मार्न खोजियो’
0 comments
Write Down Your Responses