काठमाडौ, जेष्ठ २० - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भूकम्पबाट प्रभावित जिल्लाका गाउँ विकास समितिहरूमा एमबीबीएस डाक्टर पठाउने भएको छ । पहिलो चरणमा ५८ जनालाई जिम्मेवारी तोकेर सम्बन्धित जिल्लामा पठाईएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले विपत्ति पछिको आवश्यक सहयोग (पोस्ट डिजास्टर निड एसेस्मेन्ट) का लागि डाक्टर पठाउने निर्णय गरेको हो । मन्त्रालयले सोमबार निर्णय गरी सरकारको छात्रबृतिमा एमबीबीएस अध्ययन गरी उर्तीण गरेका डाक्टरलाई भुकम्प प्रभावित ११ जिल्लाका अति प्रभावित गाविसमा खटाउनका लागि नामसुची तयार पारेको छ ।
‘११ जिल्लाका ५८ गाविसमा मात्र अहिले पठाउन लागेका हौं । जिल्ला दैबि प्रकोप उद्धार समितिले जुन ठाउँमा आवश्यकता छ भनेर डाक्टरको सिफारिस गर्छ त्यही ठाउँमा डाक्टर पुर्ति गर्दै जानेछौं,’ मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठल भने, ‘अझै ४ सय चिकित्सक खटाउने तयारी गरिरहेका छौं ।’
एक/दुई दिनमै रसुवा, दोलखा, ओखलढुंगा, मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, लमजुङ, काभ्रेपलाञ्चोक, गोरखा र धादिङ जिल्लाका प्रभावित ५८ वटै गाविसमा डाक्टर खटिने छन् ।
सरकारले घोषणा गरेका भूकम्प प्रभावित १४ जिल्लामध्ये काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा बिरामीले आवश्यक सेवा पाइरहेकाले अत्यावश्यक ठाउँमा सेवा पुर्याउने उद्धेश्यले अन्य जिल्लामा डाक्टर खटाउन लागिएको श्रेष्ठले बताए ।
छात्रबृतिमा एमबीबीएस सकेका डाक्टरहरुले अनिवार्य रुपमा कम्तीमा दुई वर्ष सरकारी सेवामै रहेर काम गर्नुपर्ने हुँदा राज्यले बिभिन्न क्षेत्रमा जानका लागि चिकित्सकहरुलाई अभिप्रेरित गरेको हो ।
‘विपद्को बेला पीडित जनतालाई आवश्यक उपचार सेवा पुर्याउनु जरुरी ठानेर डाक्टरहरुलाई खटाउने निर्णय भएको हो,’ सचिब श्रेष्ठले भने, ‘यस्तो बेलामा दुर्गम/सुगम नभनी डाक्टरहरुले खटाएको ठाउँमा पुगेर सेवा दिनुपर्छ ।’
उनका अनुसार यसरी खटाउँदा कतिपय चिकित्सकहरु खुसी भएको पाइयो । सरकारले खटाएका डाक्टरहरु हेल्थ असिस्टेन्टले सेवा दिइरहेको स्वास्थ्य चौकीमा पुगेर सेवा दिनेछन् । उनीहरुले मेडिकल अधिकृत सरहको आठौं तहको सुविधा पाउनेछन् ।
डाक्टरलाई जिल्ला पठाउनु अघि तालिम केन्द्रले बिपदसम्बन्धी अभिमुखिकरण तालिम दिइरहेको मन्त्रालयले जनाएको छ । भुकम्पले स्वास्थ्य संस्थाका भवनहरु भत्किएकाले पीडितले उपचार सेवा नपाएको गुनासो आएपछि मन्त्रालयले आपतकालिन अवस्थामा स्वयंसेवी डाक्टर पठाएर व्यवस्थापन गर्ने तयारी गरेको थियो । भोलिन्टर डाक्टर नपाएपछि मन्त्रीपरिषदको बुधबार बसेको बैठकले सरकारी छात्रबृतिमा अध्ययन गरी एमबीबीएस उर्तीण गरिसकेका डाक्टरलाई प्रभावित जिल्लामा पठाउनेनिर्णय गरेको हो । ‘मन्त्रीपरिषदकै निर्णय अनुसार नाम सुची तयार पारी मन्त्रालयले खटाएको हो’ सचिब श्रेष्ठले भने ।
News Sourses:ekantipur
भूकम्पबाट अति प्रभावित गाउँमा डाक्टर पठाइने
0 comments
Write Down Your Responses